• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    कङ्गोमा इबोला प्रकोप, एक हजारभन्दा बढी सङ्क्रमित

    कङ्गोमा इबोला प्रकोप, एक हजारभन्दा बढी सङ्क्रमित

    बुधबार, असार १० २०८३
    बुधबार, असार १० २०८३
    कङ्गोमा इबोला प्रकोप, एक हजारभन्दा बढी सङ्क्रमित

    काठमाडौँ, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा फैलिएको इबोला प्रकोपले चिन्ताजनक रूप लिँदै गएको छ। 

    प्रकोप घोषणा भएको डेढ महिनामै सङ्क्रमितको संख्या एक हजार नाघ्नुका साथै मृतकको संख्या तीन सय नजिक पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले क्षेत्रीय जोखिम उच्च रहेको जनाएको छ।

    डब्ल्यूएचओका पछिल्ला तथ्याङ्कअनुसार मे १५ मा प्रकोप घोषणा भएयता हालसम्म एक हजार ९४ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमणका कारण २७७ जनाको मृत्यु भइसकेको छ भने सयौँ बिरामी उपचाररत छन्। सार्वजनिक स्वास्थ्यका विज्ञहरूले यो अवस्थाले रोग नियन्त्रणभन्दा पनि समुदायस्तरमा फैलावट तीव्र गतिमा भइरहेको संकेत गरेको बताएका छन्।

    कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला साताहरूमा नयाँ सङ्क्रमण देखिने दरमा निरन्तर वृद्धि भइरहेको छ। इबोलाको सङ्क्रमण नयाँ–नयाँ स्वास्थ्य क्षेत्रमा फैलिन थालेपछि महामारी नियन्त्रण अभियान थप चुनौतीपूर्ण बनेको छ। विशेषगरी इटुरी, उत्तरी किभु र दक्षिणी किभु प्रदेश सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखिएका छन्।

    डब्ल्यूएचओका स्वास्थ्य आपत्कालीन प्रतिकार्य प्रमुख अब्दिराहमान महामुदले अफ्रिकामा हालसम्म देखिएका इबोला प्रकोपमध्ये प्रारम्भिक एक महिनामै यति धेरै सङ्क्रमण पुष्टि भएको यो दुर्लभ घटना भएको बताउनुभएको छ। उहाँका अनुसार रोगको विस्तार अपेक्षाभन्दा तीव्र देखिएपछि उपचार, परीक्षण र निगरानी प्रणालीलाई आपत्कालीन रूपमा विस्तार गरिएको छ।

    प्रकोप सुरु हुँदा राजधानी किन्शासामा सीमित परीक्षण क्षमता रहेकोमा अहिले प्रभावित प्रदेशहरूमा स्थापना गरिएका आठवटा प्रयोगशालाबाट दैनिक दुई हजारभन्दा बढी नमुनाको परीक्षण गर्न सकिने अवस्था सिर्जना भएको छ। उपचार सेवाको पहुँच विस्तार गर्दै पाँच सयभन्दा बढी शय्या क्षमताका स्वास्थ्य संरचना सञ्चालनमा ल्याइएको जनाइएको छ।

    यद्यपि स्वास्थ्य अधिकारीहरूका अनुसार परीक्षण क्षमता बढ्नु मात्र समाधान होइन। दुर्गम बस्तीहरूमा स्वास्थ्य सेवाको सीमित पहुँच, समुदायस्तरमा देखिएको त्रास, जनचेतनाको अभाव तथा सीमावर्ती क्षेत्रमा हुने आवतजावतका कारण रोग नियन्त्रणमा चुनौती थपिएको छ।

    इबोला अहिले कङ्गोको सीमाभन्दा बाहिर फैलिन थालेको संकेतसमेत देखिएको छ। छिमेकी युगान्डामा २० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। तीमध्ये अधिकांश सङ्क्रमण कङ्गोबाट सरेका घटनासँग सम्बन्धित रहेको युगान्डाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दुई जनाको मृत्यु भइसकेको छ भने १४ जना निको भएका छन्।

    सीमापार फैलावटको जोखिम बढेसँगै कङ्गो र युगान्डाले संयुक्त निगरानी तथा प्रतिकार्य संयन्त्र सञ्चालनमा ल्याएका छन्। दुवै देशले सीमा क्षेत्रमा स्वास्थ्य निगरानी कडा पार्नुका साथै संयुक्त प्राविधिक टोली, मोबाइल प्रयोगशाला र उपचार केन्द्र परिचालन सुरु गरेका छन्।

    कङ्गोका राष्ट्रपति फेलिक्स त्सेसेकेदीले महामारी नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राखिएको बताउँदै उच्च जोखिममा रहेका क्षेत्रमा प्रत्यक्ष अनुगमन गर्ने घोषणा गर्नुभएको छ। उहाँले रोग नियन्त्रणका लागि छिमेकी मुलुकबीच सूचना आदानप्रदान, निगरानी र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

    डब्ल्यूएचओले पनि नयाँ क्षेत्रमा सङ्क्रमण फैलिँदै गएको, सीमापार संक्रमण पुष्टि भएको तथा प्रभावित क्षेत्रहरूमा रोगको स्रोत पहिचान गर्न कठिनाइ भइरहेका कारण कङ्गो र आसपासका मुलुकमा स्वास्थ्य जोखिम उच्च रहेको निष्कर्ष निकालेको छ।

    विश्वव्यापी स्वास्थ्य विज्ञहरूका अनुसार आगामी केही साताभित्र सङ्क्रमणको शृङ्खला तोड्न नसकिए इबोला प्रकोपले मध्य तथा पूर्वी अफ्रिकाका थप मुलुकमा प्रभाव पार्न सक्ने जोखिम रहेको छ। त्यसैले अन्तर्राष्ट्रिय सहयोग, प्रभावकारी निगरानी र समुदायको सक्रिय सहभागिता अहिलेको सबैभन्दा ठूलो आवश्यकता बनेको छ।
    एजेन्सी 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार