डब्लुएचओको सहयोगमा थप ४,५०० भायल एण्टि–रेबिज खोप आउँदै
काठमाडौं, १० असार । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले देशका विभिन्न जिल्लामा एण्टि–रेबिज खोप (एआरभी) को उपलब्धतासम्बन्धी देखिएका चुनौतीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक पहल तीव्र रूपमा अघि बढाइएको जनाएको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप आपूर्तिमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, संघीय अस्पताल तथा स्थानीय तहहरूसँग समन्वय गरी आवश्यक खोप व्यवस्थापन गर्न अनुरोध गरेको थियो।
“खोप सेवामा कुनै नागरिक वञ्चित नहुन् भन्ने उद्देश्यका साथ उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरिएको छ। विभिन्न प्रदेश तथा स्वास्थ्य संस्थाहरूले खोप सेवा सञ्चालनमा आवश्यक सहयोग गरिरहेका छन्,” डा. अधिकारीले भन्नुभयो।
मन्त्रालयका अनुसार स्थानीय तहहरूलाई कुकुर तथा अन्य जनावरको टोकाइ व्यवस्थापन र आवश्यक खोप सेवाको सहजीकरण गर्न समेत अनुरोध गरिएको छ। विकास साझेदार संस्थाहरूसँग गरिएको समन्वयका क्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा २,५०० भायल एण्टि–रेबिज खोप प्राप्त भई उपयोगमा ल्याइसकिएको छ भने थप ४,५०० भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ।
हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय भण्डारहरूमा गरी जम्मा १० हजार ११ भायल एण्टि–रेबिज खोप मौज्दात रहेको मन्त्रालयले जनाएको छ। उपलब्ध खोपको समुचित वितरण तथा व्यवस्थापनमार्फत देशभर आवश्यक सेवा निरन्तर सञ्चालन गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले हाल केही स्थानमा खोप उपलब्धतामा चुनौती देखिए पनि प्रमुख स्वास्थ्य संस्थाहरूमा सेवा प्रभावित नभएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट प्रदान हुँदै आएको रेबिजविरुद्धको पोस्ट–एक्सपोजर प्रोफिल्याक्सिस (पीईपी) सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ।
“हाल मौज्दात रहेको खोप र सुनिश्चित आपूर्तिका आधारमा टेकु अस्पतालमा आगामी ४० दिनभन्दा बढी समयसम्म एण्टि–रेबिज खोप सेवा निरन्तर सञ्चालन हुने अवस्था छ। यस अवधिमा स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया सम्पन्न भई खोप आपूर्ति प्रणाली पूर्ण रूपमा नियमित हुने अपेक्षा गरेका छौँ,” उहाँले बताउनुभयो।
मन्त्रालयले कुकुर वा अन्य शंकास्पद जनावरले टोकेको अवस्थामा तत्काल साबुनपानीले घाउ राम्रोसँग सफा गरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेको छ। रेबिज शतप्रतिशत रोकथाम गर्न सकिने तर लक्षण देखिएपछि लगभग शतप्रतिशत घातक रोग भएकाले समयमै उपचार तथा खोप सेवा लिन अत्यन्त आवश्यक रहेको मन्त्रालयले जनाएको छ।
नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्रालयले खोप आपूर्तिको अवस्था तथा सेवासम्बन्धी जानकारी नियमित रूपमा सार्वजनिक गर्दै जाने जनाएको छ।