काठमाडौं, २० जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रअन्तर्गतका विभिन्न परिषद्, प्रतिष्ठान तथा बोर्डमा रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालय, सिंहदरबारमा आवेदन दिन सक्नेछन्।
आवेदन माग गरिएका पदहरूमा नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्ष, सदस्य तथा रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, सदस्य तथा सदस्य सचिव, नेपाल नर्सिङ परिषद्को अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा रजिस्ट्रार, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष तथा रजिस्ट्रार, नेपाल फार्मेसी परिषद्को अध्यक्ष, सदस्य तथा रजिस्ट्रार तथा नेपाल मेडिकल काउन्सिलको अध्यक्ष, सदस्य र रजिस्ट्रार पद रहेका छन्।
त्यसैगरी, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सदस्य, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक तथा सदस्य, र स्वास्थ्य बीमा बोर्डको अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक पदका लागि पनि आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आवेदनसँगै पेश गर्नुपर्ने आवश्यक कागजात तथा योग्यता सम्बन्धी विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। इच्छुक उम्मेदवारलाई निर्धारित समयभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न आग्रह गरिएको छ ।