• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    विश्वमा हान्टा भाइरसको प्रकोपः नेपालमा सतर्कता आवस्यक

    विश्वमा हान्टा भाइरसको प्रकोपः नेपालमा सतर्कता आवस्यक

    सोमबार, जेठ १८ २०८३
    सोमबार, जेठ १८ २०८३
    विश्वमा हान्टा भाइरसको प्रकोपः नेपालमा सतर्कता आवस्यक

    काठमाडौं, १८ जेठ । विश्वका विभिन्न देशमा हान्टा भाइरस सङ्क्रमणका घटना देखिन थालेपछि नेपाल सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सतर्कता बढाएको छ।

    हालसम्म नेपालमा हान्टा भाइरस सङ्क्रमण पुष्टि नभए पनि रोग निगरानी, पूर्वतयारी तथा स्वास्थ्य सुरक्षा उपायलाई प्रभावकारी बनाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका सचिव डा. विकास देवकोटाले अन्तर्राष्ट्रिय स्वास्थ्य अवस्थालाई निरन्तर अनुगमन गर्दै नेपालले आवश्यक तयारी अघि बढाइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल, स्थल सीमानाका तथा अन्य प्रवेश नाकाहरूमा स्वास्थ्य निगरानीलाई थप सुदृढ बनाइएको छ।

    “नेपालमा हालसम्म हान्टा भाइरस सङ्क्रमण पुष्टि भएको छैन। तर विश्वका केही मुलुकमा संक्रमण देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता बढाएका छौँ,” डा. देवकोटाले भन्नुभयो। आवश्यक परे थप जनशक्ति परिचालन गरी निगरानी तथा प्रतिकार्य क्षमता विस्तार गरिने उहाँले बताउनुभयो।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा तत्काल जोखिम कम देखिए पनि अन्तर्राष्ट्रिय आवतजावतका कारण सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने बताउनुभयो। उहाँका अनुसार सम्भावित सङ्क्रमणको पहिचान, सूचना व्यवस्थापन तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्राथमिकतामा राखिएको छ।

    सङ्क्रमण पुष्टि भएका देशबाट नेपाल आउने यात्रुको स्वास्थ्य अवस्थामाथि विशेष निगरानी राखिएको मन्त्रालयले जनाएको छ। विशेषगरी प्रभावित क्षेत्रबाट आउने यात्रुको स्वास्थ्य परीक्षण र निगरानीलाई प्रभावकारी बनाइएको छ।

    के हो हान्टा भाइरस?

    सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हान्टा भाइरस मुसाबाट मानिसमा सर्ने दुर्लभ तर गम्भीर भाइरसजन्य रोग हो। विश्वका विभिन्न क्षेत्रमा समय–समयमा देखिने यो भाइरसका विभिन्न प्रकार छन्, जसले मानिसमा फरक–फरक स्वास्थ्य समस्या निम्त्याउन सक्छन्।

    उहाँका अनुसार सङ्क्रमित मुसाको पिसाब, दिसा, ¥याल वा त्यसबाट दूषित भएको धुलो तथा वातावरणको सम्पर्कमा आउँदा मानिसमा संक्रमण सर्न सक्छ। गोदाम, पुराना घर, बन्द कोठा तथा फोहोर स्थान सफा गर्ने क्रममा उड्ने धुलोमार्फत पनि भाइरस शरीरमा प्रवेश गर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक हुन्छ।

    केही प्रकारका हान्टा भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको अध्ययनहरूले देखाए पनि यस्तो संक्रमण अत्यन्त दुर्लभ मानिन्छ।

    लक्षण र सावधानी

    डा. पुनका अनुसार हान्टा भाइरस सङ्क्रमणका प्रारम्भिक लक्षण सामान्य भाइरल रोगसँग मिल्दोजुल्दो हुन्छन्। ज्वरो आउने, अत्यधिक थकान महसुस हुने, मांसपेशी दुख्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने तथा पेट दुख्ने जस्ता लक्षण प्रारम्भिक चरणमा देखिन सक्छन्।

    रोग जटिल बन्दै जाँदा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती कस्सिएको महसुस हुने, फोक्सोमा तरल पदार्थ जम्ने तथा मिर्गौलाको कार्यक्षमतामा असर पर्ने अवस्था आउन सक्छ। समयमै उपचार नपाए संक्रमण गम्भीर बन्न सक्ने भएकाले शङ्कास्पद लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो।

    हान्टा भाइरसबाट जोगिन मुसाको बढी आवतजावत हुने स्थान सफा गर्दा मास्क र पञ्जा प्रयोग गर्न, धुलो तथा फोहोर व्यवस्थापनमा सावधानी अपनाउन, खाद्यान्न सुरक्षित राख्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार