काठमाडौँ, ८ जेठ । देशभरका आठ वटा विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि कुल २१८ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै आवेदन त्रिभुवन विश्वविद्यालय को उपकुलपति पदका लागि परेको छ ।
मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयका लागि मात्रै ५० जनाले आवेदन दिएका छन् । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय मा समान ३८÷३८ जनाको आवेदन परेको छ ।
यस्तै राजर्षि जनक विश्वविद्यालय का लागि २७, मध्यपश्चिम विश्वविद्यालय का लागि २० तथा सुदूरपश्चिम विश्वविद्यालय का लागि १९ जनाले आवेदन दिएका छन् ।
त्यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय को उपकुलपति बन्न १५ जना र लुम्बिनी बौद्ध विश्वविद्यालय का लागि ११ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।
सरकारले अध्यादेशमार्फत यसअघि कार्यरत उपकुलपतिसहित विभिन्न पदाधिकारीलाई पदमुक्त गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो । मन्त्रालयले गत २५ वैशाखमा १० दिने समयसीमा राखेर खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो ।
उपकुलपति छनोट प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउन शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिले अब विज्ञ उपसमिति गठन गरी उम्मेदवारको योग्यता, कार्ययोजना र नेतृत्व क्षमता मूल्याङ्कन गर्ने तयारी गरेको छ ।
प्रतिस्पर्धामा सहभागी उम्मेदवारहरूले सम्बन्धित विश्वविद्यालयको शैक्षिक सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुशासन तथा गुणस्तर अभिवृद्धिसम्बन्धी पाँच हजार शब्दभित्रको रणनीतिक दृष्टिपत्र (भिजन पेपर) र कार्ययोजना (एक्सन प्लान) पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।