काठमाडौं, २ जेठ । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले अन्तरङ्ग सेवाअन्तर्गत भर्ना भएर उपचार गराइरहेका बिरामीलाई लक्षित गर्दै निःशुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ।
अस्पताल प्रशासनका अनुसार २०८३ साल जेठ १ गते शुक्रबारदेखि उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। अस्पतालका निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले बिरामीको उपचार प्रक्रियालाई थप प्रभावकारी, सहज र मानवीय बनाउन यो कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार अस्पतालमा उपचाररत धेरै बिरामी आर्थिक तथा पारिवारिक समस्याका कारण नियमित र पोषणयुक्त भोजनबाट वञ्चित हुने गरेका छन्। यस्तो अवस्थालाई मध्यनजर गर्दै बिरामीलाई अस्पतालमै स्वच्छ, गुणस्तरीय तथा सन्तुलित खाना उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।
अस्पतालले प्रारम्भिक चरणमा अन्तरङ्ग सेवामा भर्ना भएका बिरामीलाई निःशुल्क भोजन उपलब्ध गराउने जनाएको छ। बिरामीको स्वास्थ्य अवस्था र चिकित्सकको सिफारिसअनुसार पोषणयुक्त खाना वितरण गरिने अस्पताल प्रशासनले जनाएको छ।
निर्देशक रेग्मीले स्वास्थ्य सेवा केवल औषधि र उपचारमा सीमित नभई बिरामीको पोषण र मानसिक सन्तुष्टिसँग पनि जोडिएको बताउनुभयो। उहाँले अस्पतालले आगामी दिनमा सेवा विस्तार गर्दै थप व्यवस्थित र प्रभावकारी बनाउने योजना रहेको उल्लेख गर्नुभयो।
अस्पतालमा उपचाररत बिरामी तथा आफन्तले अस्पतालको यो पहललाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले उपचारका क्रममा भोजन व्यवस्थापनको थप आर्थिक भार कम हुने भन्दै अस्पतालको निर्णयले राहत मिलेको प्रतिक्रिया दिएका छन्।
अस्पताल प्रशासनले सेवा सञ्चालनका क्रममा सरसफाइ, खाद्य गुणस्तर र पोषण मापदण्डलाई विशेष प्राथमिकतामा राखिएको जनाएको छ।