काठमाडौं, १७ कात्तिक । निजामती कर्मचारी (सिभिल) अस्पतालले पहिलो पटक अत्याधुनिक जीवनरक्षक प्रविधि एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सुरु गरेको छ । अस्पतालले ईक्मो प्रविधिको सहायताबाट गम्भीर अवस्थाका ४३ वर्षीय पुरुष बिरामीको सफल उपचार गरी घर पठाएको छ ।
इन्फ्लुएन्जा भाइरसको सङ्क्रमणका कारण फोक्सोले काम गर्न नसक्ने अवस्थामा पुगेका ती बिरामीलाई ११ दिनसम्म ईक्मो र १४ दिनसम्म भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उपचारपछि स्वास्थ्यमा सुधार आएपछि उहाँलाई असोज १७ गते सघन उपचार कक्ष (आईसीयू)बाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
यो उपचारसँगै नेपालमै पहिलो पटक ईक्मो रिट्रिभल सेवा पनि सञ्चालनमा आएको छ । ईक्मो आवश्यक पर्ने गम्भीर अवस्थाका बिरामी उपचाररत अस्पतालमै विशेषज्ञ टोली र आवश्यक उपकरणसहित पुगेर उपचार सुरु गर्ने तथा सुरक्षित रूपमा ईक्मो सेवा उपलब्ध हुने अस्पतालमा स्थानान्तरण गर्ने प्रक्रियालाई ईक्मो रिट्रिभल भनिन्छ ।
सिभिल अस्पतालका सघन उपचार सेवाका प्रमुख डा. प्रदीप तिवारीका अनुसार ईक्मो मुटु र फोक्सोले पर्याप्त काम गर्न नसकेको अवस्थामा प्रयोग गरिने अत्याधुनिक जीवनरक्षक प्रविधि हो । यसले शरीरबाट रगत बाहिर निकालेर त्यसमा अक्सिजन थप्ने र कार्बनडाइअक्साइड हटाउने काम गर्छ । त्यसपछि प्रशोधित रगत पुनः शरीरमा पठाइन्छ ।
उहाँका अनुसार भाइरल सङ्क्रमणपछि बिरामीको फोक्सोमा गम्भीर समस्या देखिएपछि सामान्य भेन्टिलेटरको सहायताले मात्र उपचार सम्भव नभएको अवस्थामा ईक्मोको आवश्यकता परेको थियो ।
'फोक्सोमा गम्भीर सङ्क्रमण देखिएपछि त्यसलाई केही समय आराम दिनुपर्ने अवस्था थियो । त्यसका लागि विशेष प्रकारको ईक्मो मेसिनको सहायता आवश्यक पर्यो,' डा. तिवारीले भन्नुभयो, 'ईक्मोमा जोडेपछि मेसिनले फोक्सोको काम गर्न थालेको थियो । यसले बिरामीको फोक्सोलाई निको हुने समय उपलब्ध गराउन सहयोग गर्यो ।'
बिरामीको अवस्था गम्भीर भएपछि उहाँलाई सुरुमा मनमोहन मेमोरियल मेडिकल कलेजको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भेन्टिलेटरको सहायताले मात्र उपचार सम्भव नहुने देखिएपछि ईक्मो आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो ।
त्यसपछि डा. तिवारीको नेतृत्वमा सिभिल अस्पतालको विशेषज्ञ टोली आवश्यक उपकरणसहित मनमोहन अस्पताल पुगेको थियो । टोलीले त्यहीँ बिरामीलाई ईक्मो प्रणालीमा जोडेर थप उपचारका लागि सिभिल अस्पतालको सघन उपचार कक्षमा स्थानान्तरण गरेको थियो ।
उपचारमा सघन उपचार विशेषज्ञ डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य, डा. वीरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन डा. सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी तथा एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारीसहित चिकित्सक र नर्सिङ टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।
उपचारमा संलग्न ईक्मो विशेषज्ञ तथा सघन उपचार विशेषज्ञ डा. आनन्द ठाकुरका अनुसार ईक्मो प्रविधि गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस), फोक्सोमा रगत जम्ने समस्या (पल्मोनरी इम्बोलिजम), गम्भीर हृदयघात तथा मुटु र फोक्सो प्रत्यारोपणका क्रममा प्रयोग गर्न सकिन्छ ।
उहाँले ईक्मो उपचारका लागि उच्च दक्ष जनशक्ति, विशेष उपकरण र विभिन्न विशेषज्ञबीच प्रभावकारी समन्वय आवश्यक पर्ने बताउनुभयो ।
नेपालमै ईक्मो रिट्रिभल सेवा सुरु हुनु गम्भीर अवस्थाका बिरामीको उपचारमा महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ । यसले अन्य अस्पतालमा उपचाररत तर थप जटिल उपचार आवश्यक पर्ने बिरामीलाई सुरक्षित रूपमा विशेषज्ञ सेवासम्म पुर्याउन सहयोग पुग्ने छ ।
डा. तिवारीले सिभिल अस्पतालमा सुरु भएको यो सेवाबाट उपचार पाउने पहिलो बिरामी स्वास्थ्यलाभ गरी घर फर्किनुले नेपालमा जटिल तथा सघन उपचार सेवा विस्तारको सम्भावनासमेत उजागर गरेको जानकारी दिनुभयो ।