काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे हुने बैठकमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरूले सामना गरिरहेका समसामयिक समस्या, तिनको समाधानका उपाय र तत्काल सम्बोधन गर्न सकिने विषयहरूमा विशेष ध्यान केन्द्रित गरिने बताइएको छ।
बैठकमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सहित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू सहभागी हुनेछन्।
त्यसैगरी विश्वविद्यालयतर्फ त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, नेपाल संस्कृत, सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू पनि सहभागी रहने कार्यक्रम छ।
यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले छलफल गर्ने सचिवालयले जनाएको छ।
सरकारले उच्च शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि नीति तथा व्यवस्थापन पक्षमा आवश्यक समन्वय र सहकार्य बढाउने उद्देश्यले यस्तो छलफल आयोजना गरेको जनाइएको छ।