मेडिकल शिक्षामा अन्तर्राष्ट्रिय अनुभव भित्र्याउने सरकारी तयारी
काठमाडौं, ३ वैशाख । विदेशमा कार्यरत नेपाली चिकित्सा विशेषज्ञहरूको ज्ञान, अनुभव र सीपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यसहित सरकारले महत्वपूर्ण नीति अघि सारेको छ।
सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ मा प्रवासमा रहेका नेपाली चिकित्सकहरूलाई नेपालका शिक्षण अस्पतालहरूमा भिजिटिङ फ्याकल्टी’ का रूपमा आबद्ध गराउने सुझाव प्रस्तुत गरिएको छ।
उक्त मार्गचित्रअनुसार विकसित देशहरूमा कार्यरत नेपाली विशेषज्ञहरूलाई स्वदेशका मेडिकल कलेज तथा अस्पतालहरूसँग जोड्दै आधुनिक चिकित्सा प्रविधि र दक्षता हस्तान्तरण गर्ने संयन्त्र निर्माण गरिने जनाइएको छ। यस पहलबाट नेपाली विद्यार्थी तथा चिकित्सकहरूले अन्तर्राष्ट्रियस्तरको अनुभव र नवीनतम प्रविधि आफ्नै देशमै सिक्ने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।
विदेशमा कार्यरत नेपाली चिकित्सकहरूले विगत लामो समयदेखि यस्ता सुझावहरू प्रस्तुत गर्दै आउनुभएको भए पनि कार्यान्वयन पक्षमा प्रगति हुन सकेको थिएन। अब सरकारले नै गठन गरेको समितिबाट उक्त सुझाव औपचारिक रूपमा प्रस्तुत गरिएकाले यसलाई कार्यान्वयनमा ल्याइने अपेक्षा गरिएको छ।
यो मार्गचित्र सुशीला कार्की नेतृत्वको सरकारले २०८२ साल पुस १४ गते सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको समितिले तयार पारेको हो। उक्त प्रतिवेदन बालेन नेतृत्वको सरकारले चैत १५ गते सार्वजनिक गरेको थियो। प्रतिवेदन निर्माण प्रक्रियामा विभिन्न मन्त्रालयका ११ सहसचिव, नागरिक समाजका प्रतिनिधि तथा जेन–जी समूहका सदस्यहरूको सहभागिता रहेको जनाइएको छ।
समितिमा टंकप्रसाद पाण्डेय, सुरेश पन्थी, एकदेव अधिकारी, कृष्णराज पन्त, गोविन्दप्रसाद रिजाल, सुवासचन्द्र शिवाकोटी, नारायणप्रसाद भट्ट, मोनिका निरौला, सान्केन राई, अन्जन श्रेष्ठ र नारायण अधिकारी सदस्यका रूपमा रहनुभएको थियो भने सहसचिव भीष्मकुमार भूसाल सदस्य–सचिवको जिम्मेवारीमा रहनुभएको थियो।
सरकारको यो पहलले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरीय सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।