• बिहीबार , २९ असोज २०८३
  • images
    images

    प्रेमसागर फाउण्डेसनको आयोजनामा आँखा शिविरः  ११ सय लाभान्वित, १४३ जनामा मोतिविन्दु 

    प्रेमसागर फाउण्डेसनको आयोजनामा आँखा शिविरः  ११ सय लाभान्वित, १४३ जनामा मोतिविन्दु 

    सोमबार, चैत २३ २०८२
    सोमबार, चैत २३ २०८२
    प्रेमसागर फाउण्डेसनको आयोजनामा आँखा शिविरः  ११ सय लाभान्वित, १४३ जनामा मोतिविन्दु 

    काठमाडौँ, २३ चैत । प्रेमसागर फाउण्डेसन नेपालले धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा सञ्चालन गरेको दुईदिने निःशुल्क आँखा परीक्षण शिविरमा १४३ जनामा मोतिविन्दु देखिएको छ । 

    चैत १४ र १५ गते थाक्रे गाउँपालिका–५ तसर्पु, दामेचौरमा आयोजित उक्त शिविरमा कुल १ हजार १०१ जनाको आँखा परीक्षण गरिएको थियो। तीमध्ये ४५५ जनालाई चस्मा तथा ४३८ जनालाई औषधि निःशुल्क वितरण गरिएको फाउण्डेसनका उपाध्यक्ष डा। प्रेम राज ढुङ्गेल ले जानकारी दिनुभयो। पहिचान भएका १४३ जना बिरामीलाई शल्यक्रियाका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो।

    images

    शिविरमा थाक्रे गाउँपालिका र थाहा नगरपालिका का विभिन्न ९ वडाअन्तर्गत ६१ गाउँबाट सेवाग्राहीहरू सहभागी भएका थिए। सहभागीमध्ये ९२ वर्षसम्मका ३०१ जना जेष्ठ नागरिक तथा १८ महिनादेखि माथिका २५७ जना बालबालिका रहेका थिए।

    खराब मौसमका बाबजुद पनि स्थानीयवासीको उत्साहजनक सहभागिताले उक्त क्षेत्रमा आँखा स्वास्थ्य सेवा अत्यावश्यक रहेको पुष्टि गरेको फाउण्डेसनका महासचिव दुर्गा दत्त घिमिरेले बताउनुभयो। उहाँका अनुसार संघीय राजधानी काठमाडौँबाट करिब दुई घण्टाको दूरीमै पर्ने क्षेत्रहरूमा समेत ठूलो संख्यामा मोतिविन्दु देखिनुले आँखा स्वास्थ्यप्रति थप सचेतना आवश्यक रहेको देखिएको छ।

    शिविरमा संलग्न वरिष्ठ नेत्र विशेषज्ञ डा. दिपक खड्काका अनुसार पछिल्लो समय बालबालिकामा मोबाइल र ल्यापटपको अत्यधिक प्रयोगका कारण दृष्टिदोष (रिफ्र्याक्सन समस्या) बढ्दै गएको देखिएको छ। उहाँले उमेर बढेसँगै मोतिविन्दुको समस्या बढी देखिएको उल्लेख गर्दै ४० वर्षमाथिका व्यक्तिहरूमा सुक्खा आँखा तथा नजिक नदेख्ने समस्या पनि सामान्य रूपमा पाइने बताउनुभयो। सन् १९८१ को तुलनामा मोतिविन्दुका कारण हुने अन्धोपन घटेको भए पनि अझै चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ।

    थाक्रे गाउँपालिका–८ का वडा सदस्य राज कुमार गुरुङले शिविरको प्रभावकारी व्यवस्थापनको प्रशंसा गर्नुभयो। उहाँका अनुसार स्थानीय तह, स्वास्थ्यकर्मी तथा विद्यालयमार्फत घरदैलोमै सूचना पुर्‍याएर गरिएको तयारीले शिविरलाई थप प्रभावकारी बनाएको हो।

    शिविरबाट सेवा लिएपछि थाक्रे–५ का ६२ वर्षीय सोमलाल तामाङले सानो अक्षर नदेख्ने समस्या समाधानका लागि चस्मा र औषधि पाउँदा खुसी व्यक्त गर्नुभयो। त्यस्तै ८५ वर्षीया बिष्णुमाया तामाङले मोतिविन्दुको शल्यक्रिया आवश्यक रहेको जानकारी पाएको र सेवा तथा व्यवहारबाट सन्तुष्ट भएको बताउनुभयो।

    शिविरमा दर्ता व्यवस्थापनमा संलग्न स्थानीय स्वयंसेवक रजनी लामाले तीन दिनदेखि निरन्तर सेवामा खटिएको बताउँदै विकट क्षेत्रमा स्वास्थ्य सेवा पुग्नु स्थानीयका लागि महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो।

    थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य लगायत स्थानीय जनप्रतिनिधिहरूले निःशुल्क आँखा शिविर सञ्चालन गरी सेवाग्राहीलाई राहत पुर्‍याएकोमा फाउण्डेसनप्रति आभार व्यक्त गर्नुभएको छ। उक्त क्षेत्रमा मुख्यतः तामाङ र चेपाङ समुदायका आर्थिक रूपमा विपन्न नागरिकहरूको बसोबास रहेको छ, जसलाई लक्षित गरी सेवा प्रदान गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार