धनगढी, २३ फागुन । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्द बहादुर चन्द विजयी हुनुभएको छ ।
उहाँले कुल ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
जनस्वास्थ्यका क्षेत्रमा क्रियाशिल चन्दले प्रतिस्पर्धी उम्मेदवारलाई भारी मतान्तरले पछि पार्दै जीत हासिल गर्नुभएको हो । उहाँ एक्सन नेपालमा आबद्ध भएर विशेषगरि सुर्तीजन्य पदार्थ नियन्त्रणमा काम गर्दै आउनुभएको छ ।
निर्वाचन क्षेत्र नं. ५ मा नेपाली काँग्रेसबाट नरनारायण शाह चन्दका निकटतम प्रतिद्वन्दी हुनुहुन्थ्यो ।
उहाँले ११ हजार ९५८ मत प्राप्त गर्नुभयो। कैलाली ५ मा नेकपा एमालेबाट यज्ञ ढुङ्गाना, नेकपाबाट प्रेम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन शाही तथा विप्लव नेतृत्वको नेकपा माओवादीबाट बबरजंग सिंह उम्मेदवारका रूपमा प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
विभिन्न राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा रहे पनि अन्ततः रास्वपाका चन्दले सबैलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
डा. आनन्द बहादुर चन्द विज्ञान तथा अनुसन्धान क्षेत्रसँग सम्बन्धित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँले रसायनशास्त्र विषयमा उच्च शिक्षा हासिल गर्नुभएको छ ।
विज्ञान तथा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीमा उहाँले विद्यावारिधि (पीएचडी) अध्ययन समेत गर्नुभएको छ ।
शिक्षा तथा अनुसन्धान क्षेत्रसँगै उहाँ विभिन्न सरकारी तथा संस्थागत जिम्मेवारीमा पनि सक्रिय हुनुहुन्छ ।
उहाँ नेपाल सरकारअन्तर्गतको नेपाल खाद्य संस्थानको सञ्चालक समितिका अध्यक्षका रूपमा काम गरिसक्नुभएको छ ।
त्यसैगरी बीपी कोइराला मेमोरियल प्लानेटेरियम, अब्जर्भेटरी एण्ड साइन्स म्युजियमका कार्यकारी निर्देशकका रूपमा पनि जिम्मेवारी सम्हाल्नुभएको छ ।
विज्ञान, प्रविधि र अनुसन्धानको विकासका लागि उहाँले विभिन्न कार्यक्रम तथा पहलहरू अघि बढाउनुभएको थियो।