काठमाडौँ, ८ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मीहरुलाई नखटाउन आग्रह गरेको छ ।
निर्वाचन आयोगमा पत्राचार गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवामै व्यस्त हुनुपर्ने र चुनावको बेलामा झन् बढी तयारीका साथ बस्नु पर्ने भएकोले यसपटकको निर्वाचन कार्यका लागि नखटाउन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका निर्वाचनमा स्थानीय तहका खटिएका स्वास्थ्यकर्मीहरुलाई निर्वाचन प्रयोजनका लागि खटाउदा आकस्मिक तथा नियमित उपचारमा असर गरेको निस्कर्ष निकालेर निर्वाचन आयोगलाई पत्राचार गरिएको बताउनुभयो ।
स्वास्थ्यकर्मीहरु निर्वाचनका बेला झन् तयारी अवस्थामा बस्नु पर्ने भन्दै उहाँले निर्वाचनमा नखटाउन मन्त्रालयबाट पत्राचार भएको छ ।
डा. बुढाथोकीले निर्वाचनमा खटाउनै पर्ने अवस्था आएमा विकल्प तयार गरेर मात्रै खटाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य सेवा रोकिन भएन, निर्वाचनमा हुन सक्ने सम्भावित झड्पलाई लिएर स्वास्थ्यकर्मीहरु अझ् बढी चनाखो भएर बस्नु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
मन्त्रालयले निर्वाचन लक्षीत अन्य पूर्व तयारीहरु पनि थालेको बताएको छ । बुढाथोकीका अनुसार मन्त्रालय अन्तर्गतको एचईओसीले इमरजेन्सी टिम, हव तथा सेटलाइट अस्पताल, एम्बुलेन्स नेटवर्क, रेपिड रेस्पोन्स टिमहरु प्रत्येक स्थानीय तहबाट समेत परिचालन हुने गरी सक्रिय बनाइएको बताउनुभयो ।
उहाँले सम्भावित झडपबाट हुन सक्ने चोटपटक र त्यसका लागि उपचारका लागि चाहिने जनशक्ति तथा औषधीहरुको आवश्यक व्यवस्थापन समेत भइरहेको बताउनुभयो ।