काठमाडौँ, २८ माघ । आगामी फागुनमा ’नेपाल फर्मा प्रदर्शनी (एक्स्पो) २०२६’ को दशौं संस्करण आयोजना हुने भएको छ ।
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा उक्त प्रदर्शनी हुन लागेको हो ।
“फर्मामा नवीनताः भोलिको स्वास्थ्यका लागि” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको एक्सपोले नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने उद्देश्य लिइएको छ ।
यस पटकको एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ्ग उत्पादक र मेसिनरीहरूको प्रदर्शन गरिनेछ ।
एपोनका अध्यक्ष विप्लव अधिकारीले एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहने जानकारी गराउनुभयो। उहाँले कच्चा पदार्थ, प्याकिङ सामग्री र नयाँ प्रविधिको क्षेत्रमा विश्वबजारमा आएका नवीनतम प्रविधिलाई नेपाली बजारसँग जोड्ने बताउनुभयो ।

उहाँका अनुसार बाँकी १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिनेछ ।
औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले औषधि क्षेत्रमा नवीन सोच र प्रविधिमा गरिने लगानीले नै भोलिको स्वस्थ नेपालको भविष्य सुनिश्चित गर्ने बताउनुभयो। उहाँले एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो भएको बताउनुभयो ।
विगतमा भएका रिसर्च एन्ड डेभलप्मेन्ट (आरएनडी) अनुसार उत्पादन भएका र आजका दिनमा शत प्रतिशत नयाँ आरएनडी भइरहेका छन्, जसले भविष्यमा बन्ने औषधिको सुनिश्चितता गर्ने विषयमा जोड दिँदै अधिकारीले भन्नुभयो “हामीले हिजोका दिनमा गरेका अनुसन्धान र आविष्कारहरू आजको औषधि उद्योगको आधार हुन् ।"

संघका महासचिव सन्तोष बरालले नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधि बन्नेबारे जानकारी गराउन एक्स्पो राखिएको बताउनुभयो । उहाँले एक्स्पोमार्फत हामी सरोकारवाला र आम सर्वसाधारणलाई नेपालमै विश्वस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन बताउनुभयो । यस पटकको एक्स्पोलाई संघले एउटा उत्सवका रूपमा मनाउँदै विभिन्न पूर्व–कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ।
पहिलो कार्यक्रम अन्तर्गत माघ २ र ३ गते १६ वटा उद्योगको सहभागितामा फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
एक्स्पोको एक दिन अगाडि फागुन २७ गते नेपाली औषधि उद्योगमा कार्यरत क्वालिटी कन्ट्रोलका फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रिय स्तरका प्राविधिकहरूले गुणस्तरसम्बन्धी विशेष सेमिनार प्रदान गर्नेछन्।
महासचिव बरालले एक्स्पोको पहिलो दिन फागुन २८ गते बिहान ८ बजे भव्य प्रभातफेरि गरी कार्यक्रमको राखिएको जानकारी दिनुभयो ।