काठमाडौँ, २१ माघ । पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी भ्याक्सिन (ह्युमन प्यापिलोमा भाइरस) खोप कार्यक्रम आगामी २५ माघ देखि सुरु हुने छ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत माघ २५ गतेदेखि फागुन १५ गतेसम्म खोप लगाइने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप दिइनेछ ।
यस्तै, गत वर्षको एचपिभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ।
खोप स्थानीय पालिकाअनुसार फरकफरक हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रले आग्रह गरेको छ ।
एचपिभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्कसँग लगाउन केन्द्रले आग्रह गरेको छ ।
गतवर्षको अभियानमा १७ लाख किशोरीहरुलाई यो खोप दिईएको थियो ।
स्वास्थ्य सेवा विभाग बाल तथा खोप शाखाका अनुसार यसपटक खोप लगाउने उमेर समूहका तीन लाख ५० हजार किशोरीलाइ मात्रै खोप लगाइने छ ।