• आइतबार, १ कात्तिक २०८३
  • images

    घट्दो क्रममा एचआईभी संक्रमित

    घट्दो क्रममा एचआईभी संक्रमित

     ३४ हजार ३३७ जना व्यक्तिमा एचआईभी संक्रमण 

    आइतबार, मंसिर १४ २०८२
    आइतबार, मंसिर १४ २०८२
    घट्दो क्रममा एचआईभी संक्रमित

    काठमाडौं, १४ मंसिर । नेपालमा एचआईभी संक्रमितको संख्या विस्तारै घट्न थालेको सरकारी तथ्यांकले देखाएको छ । 

    आइतवार विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्माले अनुमान भन्दा संक्रमण घटेको बताउनुभयो । 

    images


    निर्देशक डा शर्माले नेपालमा एचआईभी र एड्स विगतको तुलनामा घटेको बताउनुभयो। 

    उहाँले  सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण भएको बताउनुभयो  । उहाका अनुसार वयस्क जनसंख्यामा शुन्य दशमलब १३ प्रतिशत संक्रमण रहेको छ । 
    सरकारी तथ्यांक अनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् । त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरूमा एचआइभी संक्रमण छ । 

    डा शर्माले १५ वर्ष भन्दा माथिका एचआइभी संक्रमित पुरुषहरूको संख्या १९ हजार २ सय ७९ रहेको र  एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिकाहरू रहेको स्पष्ट पार्नुभयो । 
     
    गत एक वर्षमा आमालाई एचआइभी परीक्षण गर्दा २ सय २७ जना बालबालिकाहरू संक्रमित फेला परेका छन् । अझैपनि दिनमा २ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको छ । 

    २०२४ मा ६१४ व्यक्तिमा एचआईभीको नयाँ संक्रमण अनुमान गरिएको छ, यो सन् २००० को तुलनामा ८९ प्रतिशतले घटेको छ । निर्देशक शर्माका अनुसार सन् २००० मा ५ हजार ६ सय व्यक्तिहरुमा नयाँ संक्रमण अनुमान गरिएको थियो । सन् २०१० को तुलनामा ७६ प्रतिशतले कम हो । 
    तथ्यांक अनुसार मृत्युमा पनि कमि आएको छ । डा शर्मा भन्नुहुन्छ,“ सन् २०२४ मा मात्रै ५६९ जना व्यक्ति एड्सका कारण मृत्यु हुने अनुमान थियो । सन् २०१० को तुलनामा मृत्युदर ७६ प्रतिशतले कम हो । सन् २०१० मा २ हजार ४ सय व्यक्तिहरुको एड्सका कारण मृत्यु भएको थियो ।”

     बच्चाहरुमा समेत संक्रमण र मृत्युदर घटेको छ । सन् २०२४ को अन्त्य सम्ममा देशभर २६ हजार ३ सय ७२ जना संक्रमितले एन्टीरेट्रोभाइरल उपचार लिइरहेका छन् । अनुमानीत कुल एचआईभी संक्रमित मध्ये ७७ प्रतिशत उपचारमा छन् । 
    निर्देशक डा शर्माका अनुसार नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५—९५—९५ लक्ष्य लिएको छ  । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाइरललोड कम गराउने सरकारी लक्ष्य रहेको छ । डा शर्माले आगामी एक वर्षभित्र एचआइभी संक्रमण विरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । 

    राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, एचआईभी, हेपाटाइटिस तथा यौनरोगका लागि आवश्यक बजेट तथा कार्यक्रम पर्याप्त नहुँदा प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको निर्देशक शर्माले बताउनुभयो । उहाँका अनुसार बजेट तथा कार्यक्रम कम हुँदै जाँदा २०३० सम्मको ९५—९५—९५ लक्ष्यमा पुग्न समेत कठिन भएको छ । 

    स्वास्थ्यमा हुने खरिद समस्या र बहुवर्षीय खरिद योजनाको अभावले पनि एचआईभी र एड्समा राज्यले लिएको लक्ष्यमा पुग्न चुनौतीहरु थपिदै गएको निर्देशक शर्माको भनाई छ । शर्माले भन्नुभयो, अझैपनि गर्भवती महिलाहरुको एचआईभी परिक्षण त्यस्तै एचआईभीको जोखिममा रहेका शिशुहरुको नियमित फलोअपको काम अपेक्षा अनुसार हुन सकेको छैन ।
    यसैगरी केन्द्रमा कार्यरत अनुगमन तथा मुल्याङ्कन शाखा प्रमुख जनस्वास्थ्य अधिकृत अस्मिता ओझाले नेपालमा सन् २०१० को तुलनामा ७६ प्रतिशतले नयाँ एचआइभी संक्रमित घटाउन सकेको जानकारी दिनुभयो । 
    केन्द्रमा कार्यरत जनस्वास्थ्य अधिकृत लोकराज पाण्डेले नेपालमा एचआइभीको अवस्थाबारे जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार