काठमाडौं, १८ कार्तिक । आन्दोलनरत नर्सहरुले मंगलबार पनि नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन्।
नर्सिङ संघर्ष समितिले सरकार र नेपाल नर्सिङ संघबीच भएको वार्ताप्रति असहमति जनाउँदै आन्दोलन तथा विरोधका कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज संघको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।

नर्सिङ संघर्ष समितिकी सदस्य बन्दना निरौलाले माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी राखिने जानकारी दिनुभयो। उहाँले भोलिदेखी पेन डाउन लगायतका आन्दोलनका कार्यक्रम रहेको बताउनुभयो ।
आजको घेराउ कार्यक्रममा नेपाल मेडिकल कलेजकी नर्सिङ निर्देशक नविना सिंहको समेत उपस्थिति रहेको थियो। निर्देशक सिंहले नेपाल मेडिकल कलेजमा पनि आन्दोलनका कार्यक्रम जारी राख्ने बताउनुभयो ।
आन्दोलनरत नर्सलाइ योजना अनुसार अघि बढ्न सुझाव दिनुभयो ।
आन्दोलनरत नर्सहरुको माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै नर्सहरुले आइतबार पनि नर्सिङ संघको कार्यालय घेरेका थिए।
आन्दोलनरत्त नर्सहरुले सहमतिमा आपती जनाएपछि संघले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई आफ्ना सम्पूर्ण माग पूरा गर्न ४८ घण्टाको समय दिएको थियो ।
उक्त समय आज ४ बजेबाट सकिएको छ । ४८ घण्टाभित्र आफ्ना मागहरू सम्बोधन नभएमा देशभरका सम्पूर्ण सरकारी, निजी, गैर सरकारी स्वास्थ्य संस्था र मेडिकल कलेजहरूमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरू ठप्प पार्ने घोषणा संघले समेत गरेको थियो।
सरकारले नर्सिङको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ।
