पूर्व मन्त्री चौधरीको तेस्रो पटक सफल मिर्गौला प्रत्यारोपण
भक्तपुर, २१ भदौ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ ।
१२ दिन अघि भाद्र ९ गते सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री तथा लक्ष्मण किशोर चौधरीको तेस्रो पटक सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्न गरिएको हो ।

सामान्यतया मृगौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मृगौलाले काम गर्ने गर्दछ तर विभिन्न कारणहरू जस्तै इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथी लगायतका समस्याले पहिले प्रत्यारोपण गरिएको मृगौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ । तर तेस्रो पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुने, प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन समेत कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । बेलायतमा भने डा पुकारले यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएको हुँदा नेपालमा पनि संभव भएको जानकारी गराउनु भयो ।
माननीय चौधरी मृर्गौला प्रत्यारोपण कै लागि आफ्नो मन्त्री पद त्यागेर आउनु भएको हो । उहाँको पहिलो मृगौला प्रत्यारोपण भारतमा, वि सं. २०७२ मा दोस्रो र हालको तेस्रो प्रत्यारोपण यसै केन्द्रमा डा. पुकार चन्द्र श्रेष्ठकै नेतृत्वमा भएकोे हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणाली अन्तर्गत गैर नातेदारबीच अंग साटासाट गरी गरिएको हो ।

नेपालमा एकै व्यक्तिमा दोस्रो पटकको मृगौला प्रत्यारोपण वीर अस्पतलमा डा पुकारबाट सन् २०१० मै शुर भएको हो । तर तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि हो । यसरी सम्पन्न भएको प्रत्यारोपणले नेपालमा अंग प्रत्यारोपण सेवाको स्तर विश्वस्तरीय क्षमता र दक्षतासँग मेल खाने स्तरमा पुगेको प्रमाणित गरेको भएको ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको तेह्र वर्षमा १५०२ सफल मृगौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण समेत सम्पन्न गरिसकेको छ ।