काठमाडौँ, ९ साउन । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गरेको छ ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागु गर्न साउन ९ गतेदेखि महिनाभर प्रचारप्रसार गर्ने बताउनुभयो ।
उहाँले भदौ १ गतेबाट जरिवानामा जाने जानकारी दिनुभयो ।
उहाले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको जानकारी दिनुभयो ।
नगर प्रहरी पाण्डेले भन्नुभयो,"सार्वजिक स्थलमा धूमपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै धूमपान भएको गुनासा हाम्रो हटलाइनमा धेरै आएको थियो। हालैको नगर सभाबाट पास भएको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिवाना गर्ने निर्णय भएको छ। निजी सम्पत्ति बाहेकका अन्य स्थलहरू धुम्रपान निषेध गरिएको छ।’