काठमाडौँ, २९ माघ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्याटेलाइट अस्पतालका रुपमा दैलेखको राकम कर्णाली अस्पतालबाट सेवा संचालन गर्ने भएको छ।
अघिल्लो दिन बसेको मन्त्रीपरिषद बैठकले दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं ४ राकम स्थित आधारभूत अस्पतालको सम्पूर्ण व्यवस्थापन र संचालनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिने निर्णय भए सँगै उक्त स्थानबाट स्वास्थ्य सेवा संचालन गर्ने भएको हो।
यस निर्णयबारे प्रतिक्रया दिदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले ‘करिव ९ लाख जनसंख्या ओगटने कर्णालीको केन्द्रबिन्दु दैलेखको राकममा उक्त अस्पताल प्रतिष्ठानले अपग्रेड गरि ५० शैयासम्म संचालन गर्ने जानकारी दिनुभयो। उहाँले स्याटालाइट अस्पताल सञ्चालनले प्रतिष्ठानको भविष्यमा ठुलो सकारात्मक असर पर्ने र त्यो क्षेत्रका बासिन्दाको लागि स्वास्थ्य सेवाको सहज र प्रभावकारी पहुच पुग्ने बतउनुभयो ।