काठमाडौं २७ असार । देशभर रहेका करिब ३० हजार कैदीबन्दीको स्वास्थ्य अवस्था सङ्कलन गरिने भएको छ । केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीहरूको स्वास्थ्य अवस्था सङ्कलन गर्न लागेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका सुधारगृहहरूमा रहेका कैदीबन्दीहरूको दीर्घरोग लगायतका स्वास्थ्य अवस्था सङ्कलन गरिनेछ । त्यस्तै अस्पतालले स्मारिका समेत आफ्नो वार्षिक उत्सवका अवसरमा प्रकाशन गर्न लागेको मेसु बुढाथोकीले जानकारी दिए ।
स्मारिकामा कारागार कार्यालयमा रहेका सुधारगृहमा भइरहेको स्वास्थ्य प्रवाह, कैदीबन्दी र व्यवस्थापनबीच स्वास्थ्य प्रवाहमा भइरहेका समस्या लगायतका विषय समेटिने छ । स्मारिकामा समग्र कारागार स्वास्थ्य सुधारका निम्ति नीति निर्माता तथा एक हजार बढी कैदीबन्दी भएका कारागार कार्यालयका प्रमुखहरुसँग समेत लेख माग गरिएको मेसु डा. बुढाथोकीले बताए ।
यसैबीच गत आर्थिक वर्षमा कैदीबन्दीको विशेषज्ञ र विशिष्टिकृत सेवाका लागि सम्झौता गरिएका सरकारी, सहकारी तथा निजी २३ वटा अस्पताल तथा संस्थाहरुसँग समीक्षात्मक बैठकसमेत शुक्रबार हुन लागेको डा. बुढाथोकीले जानकारी दिए ।