ओखलढुंगा,४ चैत । ओखलढुङ्गामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
नेपाल चिकित्सक संघ, दाँवाली मिलन क्लव , शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा सिद्धिचरण नगरपालिकाको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा एकहजार पाँचसय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।
स्थानीय आयोजक सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले बृहत् शिविरमा सेवा दिन आएका विभिन्न रोगका विशेषज्ञ चिकित्सक तथा शिविर आयोजनाको पहल गर्ने सम्पुर्ण संघ संस्था र अस्पतालहरुप्रति आभार व्यक्त गरेका थिए।
आयोजक नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले निःशुल्क स्वास्थ्य शिविरमा मुटु, क्यान्सर, मिर्गौला, पेटरोग, नाक,कान घाँटी, हाडजोर्नी दाँत, बालरोग, गाइनोकोलोजी, मानसिक तथा आँखारोगका विशेषज्ञहरुद्वारा निःशुल्क परिक्षण गरिएको जानकारी दिए ।
त्यसैगरी मुटुको परिक्षणमा करिब १०० जनाको इसिजी तथा इको गरिएको तथा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ भिआइए परिक्षण करिब ८० जनाको गरिएको दाँवाली क्लवका अध्यक्ष रोशन श्रेठले जानकारी दिए।
त्यस्तै पेट रोगका लागि भिडियो एक्सरे, मिर्गौला परिक्षणका लागि पिसाब जाँच गरिएको थियो भने शिविरमा जाँच गरेका बिरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो।
शिविरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ पेटरोग विशेषज्ञ डा भुपेन्द्र बस्नेत, न्याम्सका रेक्टर तथा फिजिसियन डा लोचन कार्की, भरतपुर क्यान्सर अस्पतालका निर्देशक तथा रेडिएसन अन्कोलोजिष्ट का शिवजी पौडेल, युरोलोजिष्ट डा उमेश नेपाल, गाइने अन्कोलोजिष्ट डा सरिता राना, भरतपुर अस्पताल तथा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मनोचिकित्सकद्वय शुनिल कुमार शाह र डा श्रीराम उपाध्याय, कान्ति बाल अस्पतालका रेडियोलोजिष्ठ डा नवीन उपाध्याय, वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा कुन्जन शेर्पा, पेट, आन्द्रा तथा मलशाय रोग विशेषज्ञ डा राकेश शाह, नाक, कान घाँटीरोग विशेषज्ञ शुमेध मिश्र, ग्राण्डी अस्पतालका न्युरोलेजिष्ठ डा नरेश खरबुजा, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नेफ्लोजिष्ट सहितको टीम, बालरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, आँखारोग विशेषज्ञ लगायतको टिमले शिविरमा सेवा दिएको शिविरका मेडिकल संयोजक डा रविन बस्नेतले जानकारी दिए।
शिविरमा विभिन्न स्थानिय क्लव तथा संघ संस्थाहरुको सहयोग तथा सहकार्य रहेको थियो।
