काठमाडौँ, १८ मंसिर । सर्बोच्च अदालतमा मुद्धा परेपछि चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले अल्पसूची (सर्ट लिष्ट)मा परेका १२ जनाको आज लिने भनेको प्रस्तुति तथा अन्तर्वार्ताको कार्यक्रम स्थगित गरेको छ ।
समितिले प्राविधिक कारण जनाउँदै अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको जनाएको छ ।
यसअघि समितिले आज विहान ८ बजे देखि अपरान्हसम्ममा १२ जनाको प्रस्तुति तथा अन्तर्वार्ता लिने योजना बनाएको थियो ।
त्यसो त चारवटा निर्देशक पदका एक साता समय दिएर मागिएको आवेदनमा २० जनाको परेको थियो । तर समितिले परेका आवेदनमध्ये तोकिएको मापदण्ड पुरा गरेकाहरु १२ जना रहेको भन्दै आइतबार उनीहरुको नाम सर्वाजनिक गरेको थियो ।
समितिले सार्वजनिक गरेको सूचीमा नपरेपछि केही आवेदकले सर्बोच्च अदालतमा मुद्धा दायर गरेको समेत बताइको छ ।
आयोगमा मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्ड रहेको छ ।
यसअघि नाम सिफारिस गर्न सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । जसमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य रहेका छन् ।