काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई १८ लाख अमेरिकी डलर बराबरको अत्यावश्यक औषधि र सामग्रीहरु हस्तान्तरण गरेको छ। कोभिड – १९ प्रतिकार्यलाई सुदृढ बनाउन सहयोग गरेको संगठनले जनाएको छ। आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आयोजित कार्यक्रममा डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
डब्लुएचओले २ लाख ५० हजार एम्पल्स डेक्सामेथाजोन, दुई हजार अक्सिजन कन्सनट्रेटर, २४ सय वटा भेन्चुरी मास्क, करिब पाँच लाख अक्सिजन नसल क्यानुला, ६ लाख मास्क र पाँच लाख सर्जिकल ग्लब्ससहितका सामग्रीहरु प्रदान गरेको जनाएको छ। ’देशमा संक्रमितहरुको संख्या र अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढेको अवस्थामा हामीले अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छौं,’ डा पाण्डवले भन्नुभयो, ’विश्व स्वास्थ्य संगठनले कोभिड–१९ गम्भीर बिरामीहरुको उपचार र व्यवस्थापनमा सहयोग गर्दै आइरहेको छ र आजको हस्तानतरण कार्यक्रम त्यसको एउटा हिस्सा हो।
उक्त स्वास्थ्य समग्रीहरु नेपालभरका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साताभित्र सुरु गर्ने बताएको छ।