चिकित्सक बिनाका क्लिनिक र उपचार
काठमाडौँ, २९ जेठ । काठमाडौँमा अबैध क्लिनिक सञ्चालनमा रहेको पाइएको छ ।
विशेषगरी ब्युटी र स्कीन (छाला) सम्बन्धि काम गर्ने क्लिनिकहरुमा चिकित्सकविना उपचार गरीरहेको पाइएको छ ।
यस्तै डाक्टर नभई क्लिनिक मात्र सञ्चालन गरीरहेको पाइएको छ ।
नेपाल मेडिकल काउन्सिलको अनुगमनमा यस्तो लापरबाही भएको पाइएको हो । काउन्सिलका प्रवक्ता डा.कृष्ण प्रसाद अधिकारीका अनुसार सोमबार भएको अनुगमनमा बालुवाटारस्थित कोरियन स्कीन केयर क्लिनिक, सिटीसेन्टरस्थित कोरियन ब्युटी क्लिनिक एण्ड केयर, नक्सालस्थित ब्युटी क्लबमा डाक्टर छैनन् ।
त्यहाँ नक्कली उपचार हुने गरेको छ । नेपाल मेडिकल काउन्सिलको अनुगमनमा क्रममा चिकित्सकबिनाकै क्लिनिकहरु संचालनमा रहेको पाइएको छ । सोमबार काउन्सिलको इथिकल कमिटीका संयोजक डा. कालुसिंह खत्री नेतृत्वको अनुगमन टोलीले गरेको अनुगमनका गरेको थियो ।
छाला र ब्युटी सम्बन्धि काम गर्ने तीन वटै संस्थामा चिकित्सकहरु कार्यरत छैनन् ।
तर स्कीन सम्बन्धि चिकित्सकहरुले मात्रै गर्नुपर्ने केही उपचार तीन वटै संस्थामा हुने गरेको अनुगमनका क्रममा फेला परेको हो । बालुवाटारस्थित कोरियन स्कीन क्लिनिकमा चिकित्सकबिना चिकीत्सकीय काम भइरहेको उजुरीका आधारमा काउन्सिलको टोली अनुगमनमा पुगेको थियो । सो क्रममा चिकित्सकको प्रेस्क्रीप्सन बिना दिन नमिल्ने औषधि र उपचार उक्त क्लिनिकमा हुने गरेको भेटिएको छ । यस्तै, नक्सालस्थित ब्युटी क्लबले चिकित्सकबिना नै चिकित्सकले गर्ने स्कीन सम्बन्धि ट्रिटमेन्ट गरेको उजुरी थियो । उक्त क्लबको अनुगमन गरेर काउन्सिलले थप कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
सिटी सेन्टरस्थित कोरियन ब्युटी क्लिनिक एण्ड केयरले पनि चिकित्सकबिना चिकीत्सकीय उपचार सम्बन्धि काम गरेको उजुरीका आधारमा काउन्सिलले अनुगमन गरेको हो । उक्त क्लिनिकमा पनि चिकित्सकले गर्ने काम भइरहेको अनुगमनको क्रममा फेला परेपछि काउन्सिलले कागजातसहित संचालकलाई काउन्सिलमा उपस्थित हुन निर्देशन दिएको छ ।
यस्तै, अनुगमनका क्रममा योग्यताबिना र योग्यताभन्दा बढी प्रायक्टिस गर्नेमाथि पनि काउन्सिलले कारवाही अगाडि बढाएको छ ।