• शनिबार, १ कात्तिक २०८३
  • images
    विश्व सुर्तीजन्य पदार्थ रहित दिवस

    सूर्तिजन्य पदार्थको सेवनले प्रत्येक वर्ष २७ हजार नेपालीको मृत्यु

    सूर्तिजन्य पदार्थको सेवनले प्रत्येक वर्ष २७ हजार नेपालीको मृत्यु

    हेल्दीखबर
    बुधबार, जेठ १७ २०८०
    हेल्दीखबर
    बुधबार, जेठ १७ २०८०
    सूर्तिजन्य पदार्थको सेवनले प्रत्येक वर्ष २७ हजार नेपालीको मृत्यु

    काठमाडौँ, १७ जेठ । हरेक वर्ष मे ३१ का दिन विश्व भरी नै “विश्व सुर्तीजन्य पदार्थ रहित दिवस” मनाउने गरिन्छ । नेपालमा पनि आज यो दिवस विविध कार्यक्रम गरी मनाईदै छ ।

    यस वर्षको विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अन्तर्रष्ट्रिय नारा अर्थात ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने छ ।

    images
     

    नेपालले सन् २००३ मा सुर्तीजन्य पदार्थ रोकथामको अन्तराष्ट्रिय महासन्धि (डब्लुएचओ एफसिटीसी)मा हस्ताक्षर गरेको थियो । त्यसपछि सन् २००६ मा अनुमोदन गरयो । सन् २००७ मा उ एफसीटीसी कार्यान्वयन गर्ने पक्ष राष्ट्र दहरियो । त्यसैको आधारमा सन् २०११ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा निर्देशिकाहरु जारी भएका हुन् ।

    दीगो विकास लक्ष्यका लागि पनि डब्लुएचओ एफसीटीसीको कार्यान्वयन महत्वपूर्ण हुने हो । तर नेपालमा कानून कार्यान्वयनको पाटो निकै नै फितलो देखिएको छ ।

    त्यसैले अब डब्लुएचओ एफसीटीसीको कार्यान्वयनलाई तीव्रता दिन पनि आवश्यक छ । किनभने यसले सुर्तीजन्य पदार्थको माग र आपूर्ति न्यूनीकरणको लागि सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि (डब्लुएचओ एफसिटीसी)का प्रावधानहरूको कार्यान्वयनलाई जोड दिन्छ ।

    केही महिना अघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय बहुक्षेत्रीय कार्य योजना २०२१–२०२५ ले नेपालमा सन् २०२५ सम्ममा १५ वर्ष माथिका मानिसहरुमा व्याप्त रहेको सुर्तीजन्य पदार्थको प्रयोगमा ३०% सापेक्षिक कमी ल्याउन आह्वान गरेको छ ।


    नेपाल स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालद्वारा गरिएको एनसीडी स्टेप्स सर्वेक्षण अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । ती मध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ भने धुम्रपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुम्रपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ ।

    नेपालमा हरेक वर्ष २७ हजार भन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको छ । त्यसैगरी सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवण शक्ति कम्जोर हुने जस्ता स्वास्थ्य समस्या हुन्छन् । अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु रोग, क्यान्सर लगायतका स्वास्थ्य जोखिम बढाउँछ ।

    विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्याङ्क अनुसार विश्वमा २२.३% मानिसहरु सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिलाहरुको (७.८%) तुलनामा पुरुषहरुमा (३६.७%) बढी हुने गरेको छ । स्टेप्स सर्भे २०१९ अनुसार नेपालमा २८.९% मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ र ४८.३% पुरुष र ११.६% महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।

    यस वर्षको नाराले कुपोषणको समस्यालाई ध्यानमा राख्दै खाद्य सुरक्षा सुधार र थप पौष्टिक खाद्य उत्पादन गर्न वैकल्पिक र दिगो खेतीका लागि नीति र रणनीतिहरू विकास गर्ने विषयमा राष्ट्रहरुको ध्यानाकर्षण गराएको छ ।

    सुर्तीजन्य पदार्थको खेती गर्दा, उत्पादनको क्रममा र प्रयोग पश्चात उत्सर्जन हुने फोहरले जल, वायु र जमिन प्रदूषित हुन्छ र मानव स्वास्थ्यको साथै समग्र वातावरणमा प्रतिकुल प्रभाव पार्दछ । यी समस्याहरुको सम्बोधन गर्न सरोकारवाला सबैको भूमिको विषयलाई जोड दिंदै सुर्तीजन्य पदार्थको खेती, उत्पादन र प्रयोगलाई निरुत्साहित गर्न आवश्यक छ ।

    सुर्तीजन्य पदार्थको महामारीलाई सम्बोधन गर्न नेपालले सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि (डब्लुएचओ एफसीटीसी) मा सन् २००३ डिसेम्बर ३ मा हस्ताक्षर गरेको र सन् २००६ नोभेम्बर ७ मा अनुमोदन गरी सन् २००७ फेब्रुअरी ५ देखि सुर्तीजन्य पदार्थ रोकथामको महास को पक्ष राष्ट्र बनेको हो ।

    सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि (डब्लुएचओ एफसीटीसी) को आधारमा नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण लक्षित कानून र प्रक्रियात्मक दस्तावेजहरू तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

    कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहर केन्द्र, वृद्धाश्रम, अनाथालयको कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाइने व्यवस्था रहेको छ ।

    त्यसैगरी सुर्तीजन्य पदार्थ बिक्रेताले अठार बर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ नबेच्ने र बेच्न नलगाउने र चुरोट तथा बिडीको फुटकर खिल्ली बेच्न नपाउने व्यवस्था रहेको छ ।

    संघ, प्रदेश र स्थानीय तहमा सुर्तीजन्य पदार्थसँग सम्बन्धित कानून र नियमको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आवश्यक छ । प्रत्येक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रत्येक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको निरीक्षक तोकिएको छ ।

    सुर्तीजन्य पदार्थको हानिकारक असर तथा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धि सचेतना कार्यक्रम तथा प्रवद्र्धनात्मक कार्यक्रम गर्न स्थानीय तह, प्रादेशिक तह र संघिय तहमा समन्वय र पैरवी गर्दै आइएको छ । स्वास्थ्यकर्मीहरुका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि क्षमता अभिवृद्घि तालिम संचालन गरिँदै आइएको छ ।

    विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्यकर्मीहरुका लागि सुर्तीजन्य पदार्थको लत त्याग्न चाहने व्यक्तिहरुलाई मद्दत गर्न सहयोग तालिम संचालन गरिएको छ । सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रणको लागि तीनै तहमा विद्यालय स्वास्थ्य शिक्षा, सरोकारवालाहरु सँग अन्तक्रिया कार्यत्रमहरु, आमसञ्चार कार्यक्रमहरु थप व्यापक गर्दै लौजान आवश्यक छ ।

    सुर्तीजन्य पदार्थको असरहरुलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानून, नियमावली र निर्देशिका पारित भई लागु भइसकेको अवस्थामा यी प्रावधनहरुको कडाईका साथ लागु गरी सुर्तीजन्य पदार्थबाट हुने असरलाई न्यूनीकरण गर्न अपरिहार्य बनेको छ ।

    सुर्तीजन्य पदार्थको सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँचयोग्य बनाउन, सुर्तीजन्य पदार्थमा कर बढाउन र विक्रि वितरणलाई नियमन गर्न आवश्यक छ । नेपालको वर्तमान आर्थिक परिप्रेक्ष्य र कोभिड–१९ को महामारीले विश्वभर निम्त्याएको आर्थिक सङ्कटको परिस्थितिको विकल्पको रुपमा सुर्तीजन्य पदार्थमा कर बढाउनाले  Brief tobacco intervention को काम गर्दछ ।

    सुर्तीजन्य पदार्थको खेती, उत्पादन, विक्रि वितरण र प्रयोगबाट मानव स्वास्थ्यको साथै समग्र वातावरणमा हुने प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ रहित दिवसलाई अभियानका रुपमा वर्षैभरी सञ्चालन गर्न आवश्यक छ । सुर्तीजन्य पदार्थको यो साझा समस्याको सम्बोधन गर्न संघ, प्रदेश र स्थानीय तह, राजनितिक नेतृत्व,गैरसरकारी संस्था, नागरिक समाज, संचारकर्मी, निजि क्षेत्र र सम्पूर्ण नागरिकको भूमिका आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार