काठमाडौँ, २२ माघ । स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले पदबाट राजिनामा दिनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसंगै राज्यमन्त्री डा कार्कीले पदबाट राजिनामा दिनुभएको हो ।
केहीबेर अघि डा.कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजिनामा बुझाउनुभएको हो । उहाँसंगै स्वतन्त्र पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पनि राजिनामा बुझाउनुभएको छ । उहाँहरु राजिनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटारमा जानुभएको थियो ।
राज्यमन्त्री कार्की गत ३ माघका दिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्ति हुनुभएको थियो ।
उहाँले २० दिन मात्रै स्वास्थ्य राज्यमन्त्रीको पद सम्हाल्न पाउनुभयो ।
त्यसो त स्वास्थ्यमा मन्त्री नेकपा एमालेको र राज्यमन्त्री स्वतन्त्र पार्टीको थियो । दुईपार्टीको मन्त्री र राज्यमन्त्री रहँदा समन्वय अभाव समेत देखिन थालेको थियो । डा कार्कीको बहिरगमन संगै स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री खाली भएको छ ।