विशेषज्ञ चिकित्सकको उमेर हद ६३ वर्ष पुर्याईयो
काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत कार्डियाक सर्जनको खाईपाई आएको तलव भत्तामा १५० प्रतिशतले बृद्धि हुने भएको छ। स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा शनिबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले कार्डियाक सर्जनको खाईपाई आएको तलव भत्तामा १५० प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको हो। शनिबारको बैठकले गंगालाल अस्पतालमा कार्यरत कार्डियाक सर्जनलाइ आकर्षित गर्न तथा त्यहाँ कार्यरत चिकित्सकलाई टिकाउन बोर्डले भत्ता बढाउने निर्णय गरेको बताइएको छ।
सोही बैठकले केन्द्रमा कार्यरत विशेषज्ञ चिकित्सकको उमेरहद ६३ बर्ष पुर्याउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा शनिबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले विशेषज्ञ चिकित्सकहरुको उमेर हद ६० बाट बढाएर ६३ वर्ष पुर्याउने निर्णय गरेको हो । सोमबार उमेर हदका कारण अनिवार्य अवकाशमा पाउन लाग्नुभएका अस्पतालका सिनियर कार्डियोलोजिस्ट डा.रवि मल्लको जागिरलाई जोगाउनकै लागि उमेरहद ६३ वर्ष बनाइएको आरोप लागेको छ। उमेरहद ६३ वर्ष पुर्याउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब दिदै आउनुभएको थियो।
यसअघि विशेषज्ञ चिकित्सकको उमेर हदका विषयमा अध्ययन् गर्न बिजय राईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाइएको थियो । कार्यदलमा डा यूवराज लिम्बु र डा रामेश कोइराला सदस्य हुनुहुन्थ्यो।
उहाँहरुले दिएको सुझावको आधारमा उमेर हद बढाउने निर्णय गरिएको हो ।