काठमाडौं । विएण्डसी अस्पतालका प्रमुख दुर्गा प्रसाईँले दुवइमा भएका नेपालीका शव निजी खर्चमा ल्याउन सुरु गर्नुभएको छ । उहाँले दुवईबाट शव ल्याएर परिवारलाई जिम्मा लगाउन सुरु गरिसक्नुभएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी प्रमुख समेत रहनुभएका प्रसाईँको पहलमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीय सुकमाया रानाको शव दुबईबाट नेपाल ल्याइएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रसाईंको खर्चमा उक्त शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको छ ।
रानाका आफन्त चेतन गुरुङले शव बुझेर आफूहरुले खर्च र कानूनी कारणले दुई महीना देखि नेपाल ल्याउन नसकेको बताउनुभयो । ‘१० दिन अघि एउटा पत्रिकामा दुर्गा प्रसाईंले दुबईमा मृत्यू भएका मान्छेका शव नेपाल ल्याइदिने भन्ने समाचार देखेर हामीले फोन ग¥यौं’ गुरुङले आज पत्रकारहरुसँग भन्नुभयो ‘उहाँले म ल्याइदिन्छु भनेपछि भेटघाट गरें । सबै खर्च व्योहोरेर उहाँले शव ल्याइदिनुभयो । सरकारले गर्ने काम एकजना व्यक्तिले गर्नुभयो । यसका लागि उहाँलाई धन्यवाद भन्छु ।’

प्रसाईंले अर्को हप्ता चारवटा शव ल्याएर आफन्तलाई बुझाउने बताउनुभएको छ । ‘सरकारले स्वदेश मै रोजगारी सृजना गरेर युवाहरुको वैदेशिक गमन रोक्न त सकेन नै पराई देशमा गए अकालमा ज्यान गुमाएका युवाको लास परिवारलाई दिन पनि सकेन’ प्रसाईंले भन्नुभयो ‘मानवीय हिसाबले मैले ति परिवारको पिडामा मैले मल्हम लगाउन खोजेको हुँ ।’
दुईसाता अघि दुबईका राजकुमारको निमन्त्रणामा त्यहाँ गएका प्रसाईले आफन्तले लैजान नसकेका नेपालीका शब आफूले लगिदिने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले हालसम्म परिवारले सम्पर्क गरेका आधारमा १६ जना नेपालीको शब नेपाल ल्याएर आफन्तलाई बुझाउने जनाउनुभएको छ ।