काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सात वटै प्रदेशमा मेडिकल कलेज र प्रतिष्ठान सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले सातै प्रदेशमा मेडिकल कलेज र प्रतिष्ठान ल्याइने जानकारी दिदै पालिकास्तर र वडास्तरमा नयाँ अस्पताल निर्माणसँगै पुराना र जीर्ण अवस्थामा रहेका संरचनाको काम पनि अगाडि बढाउने बताउनुभयो । उहाँले सरकारले मिर्गौला प्रत्यारोपण र मुटुको शल्यक्रिया लगायतका उपचार सातै प्रदेशबाट गर्ने गरी योजना बनाएको बताउनुभयो ।
खतिवडाले पोखरा र सुर्खेतका लागि सम्झौता भइसकेको र अन्य स्थानमा आवश्यकताका आधारमा सम्झौता गरी उपचार अगाडी बढाइने बताउनुभयो ।
उहाँले प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज र एउटा प्रतिष्ठान सञ्चालनमा ल्याउने नीति यस वर्षदेखि आएकाले त्यसलाई पनि लागु गरिने बताउदै ४० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण र महिलाको पाठेघरको निःशुल्क परिक्षण गरिने बताउनुभयो ।