बलिउड अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लडिरहनुभएको छ । चर्चित फिल्म ‘परदेश’की अभिनेत्री चौधरीलाई क्यासर भएको जानकारी बलिउडका अर्का अभिनेता अनुपमले सामाजिक सञ्जालमार्फत् एक भिडियो सेयर गरेर दिनुभएको थियो ।
‘मलाई कुनै लक्षण थिएनन्,’ चौधरीले भन्नुभयो, ‘मैले हरेक वर्ष परीक्षण गराइरहेको थिएँ। यसैबीच मलाई आफ्नो परिक्षण गर्नुपर्ने सल्लाह पाएँ। मैले त्यसपछि एक्लै डाक्टरकोमा गए। त्यहाँ परिक्षण गर्दा मलाई ब्रेष्ट क्यान्सर भएको थाहा भयो।’
अनुपम खेरले सार्वजनिक गरेको भिडियोमा महिमासँग उहाँले प्रश्नोत्तर गर्नुभएको छ । जवाफमा महिमाले आफ्नो अनुभव सार्वजनिक गर्नुभएको छ । उहाँले भन्नुभयो ‘मैले जब आफ्नो कपाल गुमाए, तब खै कसरी मलाई निकै कल आउन थाल्यो। यी फोनहरु वेब सिरिजमा काम गर्नका लागि पनि थियो।’
आफूलाई क्यान्सर भएको कुरा थाहा भएपछि परिवारले भने आफूलाई साथ दिएको महिमाको भनाइ छ। उहाँले आफ्नो परिवारका सम्पूर्ण सदस्य बलियो भएको बताउँदै भन्नुहुन्छ ‘म सधैं राती रुन्थे। तब मेरो भेट एउटा बच्चासँग भयो। किमोथेरापीको क्रममा उनीसँग कुरा गर्ने कोसिस गरेको थिएँ। मैले तिम्रो औषधी यति छ, मेरो त यति धेरै छ भनेको थिएँ। उनले जवाफमा, ‘यसैले त ठिक हुन्छ’ भने। त्यसपछि मलाई शक्ति आयो।’
महिमा चौधरीले बलिउडमा आफ्नो करिअरको सुरुवात सुभाष घईको फिल्म परदेशबाट गर्नुभएको थियो । यो फिल्म १९९७ मा प्रदर्शनमा आएको थियो। उक्त फिल्मको अभिनयका कारण उहाँ निकै चर्चित हुनुभयो ।
पहिलो फिल्ममा गरेको अभिनयकै लागि उहाँलाई फिल्म फेयर अवार्ड पनि दिइएको थियो। त्यसपछि उहाले दिल क्या करे, दाग, धड्कन, कुरुक्षेत्र, दिल है तुम्हारा, लज्जा, तेरे नामजस्ता चर्चित फिल्ममा पनि खेल्नुभएको छ ।
एजेन्सी