कावासोती , ९ साउन । गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ्गले कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई छिट्टै जोखिम भत्ता उपलब्ध गराउने बताउनुभएको छ ।
पूर्वी नवलपरासीको कावासोती स्थित मध्यविन्दु जिल्ला अस्पतालको निरीक्षणका क्रममा उहाँले स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराइने बताउनुभयो ।
जोखिमका बाबजुद पनि दिनरात कोभिडका बिरामीको नजिक रहेर जोखिम मोल्दै काम गरेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउनेमा ढुक्क रहन उहाँले आग्रह गर्नुभयो । केन्द्रबाट ढिला भयो भने गण्डकी प्रदेश सरकारले नै जोखिम भत्ता उपलब्ध गराउँने बताउनुभयो । त्यसैले ढुक्क भएर काम गर्नुस् । मन्त्री अधिकारीले शिक्षा , स्वास्थ्य भनेको राज्यको दायित्व भएकाले राज्यले यी क्षेत्रको विकासमा कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।
प्रदेशका सबै जिल्लामा रहेका स्वास्थ्य संस्थाको भौतिक विकास र दक्ष जनशक्ति परिपुर्ती गर्न पनि प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल गर्ने बताउनुभयो ।यस्तै उहाँले गण्डकी प्रदेश सरकारले भर्खर ल्याएको नीति तथा कार्यक्रममा क्यान्सर पिडीत महिलालाई निशुल्क उपचार गर्ने , कोभिडबाट मृत्युवरण गरेकालाई ५० हजार दिने , बुवाआमा गुमाएका बालबच्चलाई मासिक ५ हजार दिने निर्णय गरेको जानकारी गराउँदै सरकारले उपलब्ध गराउने यस्ता सेवा सुविधाको बारेमा कुना कन्दरामा रहेका नागरिकलाई सूसुचित गराउन उहाँले सरोकारवालालाई आग्रह गर्नुभयो ।
अस्पतालका अध्यक्ष डा. गोपाल अनालले अस्पतालको बारेमा जानकारी गराउनुभयो भने , अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी छविलाल सुवेदीले अस्पतालको भौतिक तथा आर्थिक प्रगती , कोभिडको अवस्था लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले अस्पतालमा दक्ष जनशक्ति अभावमा अस्पतालले सञ्चालन गरेका सेवा पनि दिन नसक्ने अवस्था रहेको भन्दै जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो ।