• शुक्रबार, ३० असोज २०८३
  • images

    किस्ट कलेजका विद्यार्थी नक्कली परीक्षार्थी

    किस्ट कलेजका विद्यार्थी नक्कली परीक्षार्थी

    १८ लाखसम्म शुल्क  लिएको खुलासा

    हेल्दीखबर
    आइतबार, चैत २० २०७८
    हेल्दीखबर
    आइतबार, चैत २० २०७८
    किस्ट कलेजका विद्यार्थी नक्कली परीक्षार्थी

    काठमाडौं ।एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा किस्ट कलेजका विद्यार्थी रहेको खुलेको छ । ती बाहेक भारतीय नागरिकसम्म नक्कली परिक्षार्थी रहेको पत्ता लागेको छ।

    अपरेसन ‘इको’नाम दिएर महानगरीय प्रहरी अपराध महाशाखाले गरेको अपरेसनमा नक्कली परीक्षार्थी बनेकाहरुमध्ये तीन जना किस्ट कलेजका विद्यार्थी रहेको खुलेको हो।
    चैत १८, २० र २१ गते सञ्चालन हुने एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुने गरेको सूचना आएपछि महाशाखाले निगरानी बढाएको थियो। जसअनुसार १८ गते पाँच जनालाई पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु र ललितपुरमा पठाएको छ।
    भारतीयदेखि एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी समेत पक्राउ परेका छन्। 
     महाशाखाका एसएसपी वसन्त कुवँरले कोटेश्वरस्थित ग्रामर स्कुल परीक्षा केन्द्रबाट सप्तरीको राजगढ गाउँपालिका–१ का २६ वर्षीय राम आशिष यादव पक्राउ परेका जानकारी दिनुभयो । रकम लिएर अरुको परीक्षा दिने यादव किस्ट कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।
    उनले रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का २० वर्षीय स्मित सिंहको नामबाट परीक्षा दिएका थिए। स्मितको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर यादवले परीक्षा दिएको प्रहरीको दाबी छ। उनी पटक पटक नक्कली परीक्षार्थी भएको समेत अनुसन्धानबाट खुलेको छ। उहाँले नक्कली परीक्षार्थीको रुपमा बी फार्मेसीको समेत परीक्षा दिने तयारी गरेको पाइएको छ।
    उनीसँगै किस्ट कलेजमा अध्ययनरत तीन जना विद्यार्थी पक्राउ परेका छन्। किस्टमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय विद्यार्थी अमर पण्डितलाई नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै गरेको अवस्थामा ललितपुरस्थित सीसीआरसी कलेजबाट पक्राउ गरिएको हो।
    पूर्वसूचना अनुसार उनलाई रेकी र सोधपुछ गरेपछि पण्डितले पुरै परीक्षा समेत नदिई परीक्षा हलबाट निस्केका थिए। प्रहरीसमक्ष पण्डितले  ‘नक्कली होरहोइन भनेर पहिल्यै केरकार भएकाले डरले पुरै परीक्षा नै नदिई निस्केको बताएका थिए।  
    महोत्तरीको सम्सी–४ का पण्डितले धनुषाको जनकपुर उपमहानगरपालिका–१४ का २१ वर्षीय वृकेश यादवको नामबाट परीक्षा दिएका थिए।
    सर्लाहीको चक्रघट्टा–४ का २२ वर्षीय रामनाथ चौधरी एमबीबीएस अध्ययनरत नक्कली परीक्षार्थी हुन्। किस्ट कलेजमै एमबीबीएस पहिलो वर्षमा अध्ययनरत चौधरीले धनुषाको अन्दुपट्टी गाउँपालिका–१ का २२ वर्षीय आजिव कुमार यादवको नाममा परीक्षा दिएको खुलेको छ। उनलाई पनि सीसीआरसी कलेजस्थित परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको हो।
    नक्कली परीक्षार्थी बनेर एमबीबीएसको परीक्षा दिन भारतदेखि काठमाडौंसम्म आएका व्यक्ति समेत समातिएका छन्। भारत बिहार औरगंबाद, रफिगञ्जका २४ वर्षीय इस्तियाख अहमद पनि पक्राउ परेका हुन्। उनले महोत्तरीको सम्सीका २३ वर्षीय सन्नीकुमार साहको नामबाट परीक्षा दिएका थिए। अहमदलाई एमबीसन कलेज मध्यबानेश्वरबाट पक्राउ गरिएको हो।
     
    खेताला खोजर आफ्नो नाममा परीक्षा दिन लगाउने सन्नी पनि समातिएका छन्। बाँकी तीन जना भने फरार रहेकाले उनीहरुलेको खोजी भइरहेको प्रहरीले जनाएको छ। मुद्दा बुझाउने बेलासम्म पक्राउ नपरे फरार प्रतिवादी बनाएर मुद्दा लगिने प्रहरीले जनाएको छ।

    images

    नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुले १८ लाख रुपैयाँसम्म असुली गर्ने गरेको महाशाखाका प्रवक्ता तथा एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार