• बिहीबार , १० मंसिर २०८३
  • images
    images

    अस्पताल व्यवस्थापनमा नयाँ प्रविधि भित्र्याउँदै मिदास

    अस्पताल व्यवस्थापनमा नयाँ प्रविधि भित्र्याउँदै मिदास

    मंगलबार, मंसिर ८ २०८३
    मंगलबार, मंसिर ८ २०८३
    अस्पताल व्यवस्थापनमा नयाँ प्रविधि भित्र्याउँदै मिदास

    काठमाडौँ ८ मंसिर । स्वास्थ्य संस्थाको सेवा प्रवाह तथा प्रशासनिक कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित अस्पताल व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) सञ्चालनमा ल्याएको छ ।

    अस्पतालका विभिन्न विभागका कामलाई एउटै सफ्टवेयरमा निर्भर नराखी छुट्टाछुट्टै प्रणालीबाट सञ्चालन गर्न सकिने यो प्रविधिले अस्पतालको डिजिटल सेवा व्यवस्थापनलाई थप सहज बनाउने कम्पनीले जनाएको छ ।

    २५ वर्षभन्दा बढी समयदेखि स्वास्थ्य क्षेत्रका लागि सूचना प्रविधिसम्बन्धी सेवा प्रदान गर्दै आएको मिदासले आफ्नो पुरानो मोनोलिथिक सफ्टवेयर संरचनालाई स्तरोन्नति गरी नयाँ प्रणाली विकास गरेको हो । कम्पनीका अनुसार देशभरका केन्द्रीय अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थासहित २५० भन्दा बढी स्वास्थ्य संस्थामा मिदासको प्रणाली प्रयोग हुँदै आएको छ ।

    परम्परागत मोनोलिथिक प्रणालीमा बिलिङ, फार्मेसी, बिरामीको अभिलेख, प्रयोगशाला तथा अन्य विभागका सेवा एउटै सफ्टवेयर संरचनाभित्र सञ्चालन हुन्छन् । यस्तो अवस्थामा एउटा विभागको प्रणालीमा समस्या आएमा अन्य सेवासमेत प्रभावित हुन सक्ने सम्भावना रहन्छ ।

    नयाँ माइक्रोसर्भिसेस प्रविधिमा भने अस्पतालका विभिन्न सेवा छुट्टाछुट्टै मोड्युलका रूपमा सञ्चालन हुन्छन् । एउटा मोड्युलमा प्राविधिक समस्या आएमा अन्य सेवा निरन्तर सञ्चालन गर्न सकिने भएकाले अस्पतालको सेवा अवरुद्ध हुने जोखिम कम हुने कम्पनीको भनाइ छ ।

    यस प्रणालीबाट अस्पतालले बिरामीको चापअनुसार आवश्यक विभागको क्षमता विस्तार गर्न, नयाँ सुविधा थप्न तथा सफ्टवेयर अद्यावधिक गर्न सक्नेछन् । साथै, सम्पूर्ण प्रणाली परिवर्तन नगरी आवश्यक विभागमा मात्रै सुधार गर्न सकिने भएकाले समय र स्रोतको उपयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    मिदासले नयाँ प्रणाली नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, ह्याम्स अस्पताल, फ्रन्टलाइन अस्पताल, गण्डकी मेडिकल कलेज, लुम्बिनी सिटी अस्पताल, मणिपाल मेडिकल कलेज तथा भीम अस्पताललगायतका स्वास्थ्य संस्थामा स्तरोन्नति गरी कार्यान्वयन गरिसकेको जनाएको छ ।

    त्यसैगरी चरक मेमोरियल अस्पताल, फिस्टेल अस्पताल, तिलोत्तमा अस्पताल, भरतपुर सामुदायिक अस्पताल, सरोवर डायग्नोस्टिक सेन्टर, युरोलोजी किड्नी अस्पताल, रिदम न्युरोसाइकियाट्री अस्पताल तथा शियर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा पनि नयाँ प्रणाली सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार किस्ट मेडिकल कलेज तथा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरलगायतका स्वास्थ्य संस्थामा पनि पुरानो प्रणालीलाई नयाँ प्रविधिमा स्तरोन्नति गर्ने काम भइरहेको छ ।

    मिदास हेल्थ सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत अंकित भण्डारीले कम्पनीले सफ्टवेयर उपलब्ध गराउने काममा मात्र सीमित नभई स्वास्थ्य संस्थासँग दीर्घकालीन साझेदारी गर्दै आएको बताउनुभएको छ ।

    उहाँले माइक्रोसर्भिसेसमा आधारित प्रणालीले अस्पतालको आवश्यकता र बिरामीको चापअनुसार सेवा विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो । अस्पतालले बिरामी उपचार र प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सक्ने भरपर्दो तथा आधुनिक प्रविधि उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको उहाँको भनाइ छ ।

    मिदास हेल्थ सर्भिसेज प्रालि यसअघि मिदास टेक्नोलोजिज प्रालिका नामले परिचित थियो । आइएमई ग्रुपको मुख्य लगानी रहेको कम्पनीले विगत २५ वर्षभन्दा बढी समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा अस्पताल व्यवस्थापन सूचना प्रणालीलगायतका प्रविधिसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार