काठमाडौँ, २३ असोज । इन्टर्न चिकित्सकलाई निर्वाह भत्तालगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग राख्दै पाँच दिनदेखि अनशनरत डिल्ली हरिजन र सरकारबीच तीनबुँदे सहमति भएको छ । सहमतिसँगै हरिजनले अनशन अन्त्य गर्नुभएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारीको नेतृत्वमा गठित सरकारी वार्ता टोली र हरिजन पक्षबीच भएको छलफलपछि सहमति जुटेको हो ।
सहमतिअनुसार चिकित्सा शिक्षा अध्ययन पूरा गरी एकवर्षे इन्टर्नसिपमा कार्यरत रहने एमबिबिएस, बिडिएसलगायतका चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने प्रस्ताव चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गरिनेछ ।
त्यसैगरी, हरिजनले उठाउनुभएका अन्य मागका विषयमा पनि चिकित्सा शिक्षा आयोगले आवश्यक प्रक्रिया अघि बढाइरहेको र ती माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको छ ।
इन्टर्न चिकित्सकलाई उचित निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ । अध्ययन पूरा गरेपछि अनिवार्य इन्टर्नसिप गर्नुपर्ने चिकित्सकले पाउने भत्ता, कार्यअवधि र सेवा सुविधाको विषयलाई लिएर यसअघि पनि सरकारको ध्यानाकर्षण गराइएको थियो ।
हरिजन यसअघि गत साउनमा पनि आफ्ना माग सम्बोधन गराउन अनशन बस्नुभएको थियो । त्यसबेला सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धतासहित साउन २२ गते उहाँसँग सम्झौता गरेको थियो । तर, माग कार्यान्वयनको विषयलाई लिएर पुनः अनशन बस्नुपर्ने अवस्था आएको थियो ।
पछिल्लो सहमतिले इन्टर्न चिकित्सकका माग सम्बोधन गर्ने प्रक्रिया अघि बढाउने आधार तयार गरेको छ । यद्यपि, निर्वाह भत्ता उपलब्ध गराउने प्रस्ताव चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गर्ने सहमति भएको भए पनि त्यसको अन्तिम निर्णय र कार्यान्वयन हुन बाँकी छ ।