काठमाडौँ, २० साउन । नेपाल चिकित्सक सङ्घले आमरण अनशनमा रहनुभएका इन्टर्न चिकित्सक डिल्ली हरिजनका मागप्रति गम्भीर ध्यान दिँदै उहाँको जीवनरक्षाका लागि शीघ्र संवाद र माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।
सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा बुधबार जारी संयुक्त विज्ञप्तिमा अनशनरत हरिजनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई अपिल गरिएको छ।
विज्ञप्तिमा इन्टर्न चिकित्सकले उठाउनुभएको ‘समान कामको समान पारिश्रमिक’, श्रमको सम्मान तथा यसअघि गठित कार्यदलले दिएका सिफारिस कार्यान्वयन गर्नुपर्ने मागप्रति नेपाल चिकित्सक सङ्घको पूर्ण समर्थन रहेको उल्लेख गरिएको छ।
इन्टर्न चिकित्सक हरिजनले इन्टर्न चिकित्सकको पारिश्रमिक सुनिश्चित गर्न, श्रमको सम्मान स्थापित गर्न तथा कार्यदलका सिफारिस कार्यान्वयन गर्नुपर्ने माग राख्दै साउन १९ गतेदेखि आमरण अनशन सुरु गर्नुभएको हो।
नेपाल चिकित्सक सङ्घले स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन इन्टर्न चिकित्सकको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको श्रम, व्यावसायिक सम्मान तथा न्यायोचित सेवा–सुविधाको सुनिश्चितता आवश्यक रहेको जनाएको छ।
सङ्घले सम्बन्धित पक्षहरूलाई वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गरी अनशनरत चिकित्सकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न समेत आग्रह गरेको छ।