काठमाडौं, २० असोज । नेपालमा अन्धोपन न्यूनीकरणमा उल्लेख्य प्रगति भए पनि आँखासम्बन्धी रोगको प्रकृति परिवर्तन हुँदै गएकाले अब उपचारसँगै रोकथाम र समयमै पहिचानलाई प्राथमिकता दिनुपर्नेमा नेत्र स्वास्थ्य क्षेत्रका विज्ञहरूले जोड दिनुभएको छ।
विश्व दृष्टि दिवसका अवसरमा नेपाल नेत्रज्योति सङ्घसहित विभिन्न संस्थाले नियमित आँखा परीक्षण, समयमै उपचार र सबै नागरिकको पहुँचमा गुणस्तरीय आँखा सेवा पुर्याउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन्। ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ बिहीबार असोज २२ गते विश्व दृष्टि दिवस मनाइँदैछ।
नेपालमा पछिल्लो दशकमा आँखा उपचार सेवाको पहुँच विस्तार भए पनि दृष्टि कमजोर हुने समस्या पहिचानमा ढिलाइ गर्ने प्रवृत्ति अझै चुनौतीका रूपमा रहेको नेत्र विशेषज्ञहरूले बताउनुभएको छ। आँखाको समस्या सधैँ दुखाइ वा अन्य स्पष्ट लक्षणबाट सुरु नहुने भएकाले नियमित परीक्षणलाई स्वास्थ्य जीवनशैलीकै एउटा हिस्सा बनाउनुपर्ने उहाँहरूको सुझाव छ।
नेपाल नेत्रज्योति सङ्घका अनुसार देशमा आँखा उपचार सेवाको विस्तारसँगै अन्धोपनको दरमा उल्लेख्य कमी आएको छ। सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकामा सन् २०२२ को र्यापिड एसेसमेन्ट अफ एभाइरेबल भिजन (आरएएबी) सर्वेक्षणमा यो दर शून्य दशमलव २८ प्रतिशतमा झरेको छ।
सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले उपचार सेवामा भएको प्रगतिलाई कायम राख्दै अब आँखाका समस्या हुन नदिन र सुरुआती अवस्थामै पहिचान गर्ने प्रणालीलाई बलियो बनाउनुपर्ने बताउनुभयो। उहाँले गम्भीर अवस्था भएपछि मात्र अस्पताल जाने प्रवृत्तिमा सुधार गरी नियमित आँखा परीक्षण गर्ने संस्कार विकास गर्न आवश्यक रहेको बताउनुभयो।
नेपालमा आँखा उपचारको पहुँच विस्तार हुनुमा अस्पताल, उपचार केन्द्र, विशेषज्ञ जनशक्ति र समुदायमा आधारित कार्यक्रमको विस्तारले महत्वपूर्ण भूमिका खेलेको सङ्घको भनाइ छ। सङ्घ स्थापना भएको सन् १९७८ मा सीमित पूर्वाधार र जनशक्तिबाट सुरु भएको आँखा सेवा अहिले देशका विभिन्न भूगोलमा विस्तार भएको छ।
सङ्घका महासचिव भरतबहादुर चन्दले सेवा विस्तारसँगै उपचारबाट अझै बाहिर रहेका समुदाय पहिचान गरी उनीहरूको आवश्यकताअनुसार सेवा पुर्याउनुपर्ने बताउनुभयो। उहाँले आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोड्दै समुदायमै प्रारम्भिक परीक्षण, प्रभावकारी उपचारका लागि पठाउने व्यवस्था र दुर्गम क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
आँखा स्वास्थ्यमा देखिएको अर्को चुनौती नसर्ने रोग र बदलिँदो जीवनशैलीसँग जोडिएको छ। ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहका कारण हुने दृष्टि समस्या, उमेरसँग सम्बन्धित रोग तथा दृष्टिदोषको समस्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ। बढ्दो औसत आयु र डिजिटल उपकरणको बढ्दो प्रयोगले पनि आँखाको स्वास्थ्यमा थप चुनौती सिर्जना गरेको छ।
सङ्घका अध्यक्ष प्रा.डा. चेतराज पन्तले आँखाको स्वास्थ्यलाई अस्पतालमा गरिने उपचारमा मात्र सीमित गर्न नहुने बताउनुभयो। राम्रो दृष्टि शिक्षा, रोजगारी, उत्पादकत्व र आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिने भएकाले आँखा स्वास्थ्यमा हुने लगानीलाई मानव विकासकै लगानीका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ छ।
सङ्घका अनुसार हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ। त्यस्तै ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ। सङ्घअन्तर्गत हाल २८ आँखा अस्पताल र ४४ जिल्ला शाखाका २२६ उपचार केन्द्र सञ्चालनमा छन्।
चिकित्सकहरूका अनुसार बालबालिका, ज्येष्ठ नागरिक, मधुमेह भएका व्यक्ति तथा आँखासम्बन्धी जोखिममा रहेका व्यक्तिले नियमित परीक्षणलाई विशेष प्राथमिकता दिनुपर्छ। विद्यालयमा बालबालिकाको दृष्टि परीक्षण तथा कार्यस्थलमा आँखा सुरक्षासम्बन्धी सचेतना बढाउन पनि आवश्यक रहेको उहाँहरूको सुझाव छ।
विश्व दृष्टि दिवसले नेपालमा आँखा उपचार सेवाको विस्तारबाट प्राप्त उपलब्धिलाई स्मरण गर्ने मात्र नभई आगामी प्राथमिकता तय गर्ने अवसरसमेत दिएको छ। गरिबी, भौगोलिक विकटता, जनचेतनाको कमी वा उपचार सेवाको अभावका कारण कसैले पनि उपचारबाट जोगाउन सकिने दृष्टि गुमाउन नपरोस् भन्नेतर्फ राज्य, स्वास्थ्य संस्था र समुदायबीच समन्वय आवश्यक देखिएको छ।
दृष्टि जोगाउने काम समस्या देखिएपछि मात्र उपचार गर्ने विषय नभई समयमै परीक्षण र रोकथामसँग जोडिएको स्वास्थ्य अधिकारका रूपमा अघि बढाउनुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ।