रोल्पा, असोज १८ । नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता तथा ‘राष्ट्रिय रक्तसम्राट’का रूपमा परिचित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रोल्पाको लिवाङमा १८८औँ पटक रक्तदान गर्नुभएको छ।
स्वयंसेवी रक्तदानको सन्देश प्रवाह गर्दै आउनुभएका कर्माचार्यले रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशका विभिन्न जिल्लामा पुगेर स्वयं रक्तदान गर्दै आउनुभएको छ। उहाँले १८ वर्ष उमेर पूरा भएका र कम्तीमा ४५ किलोग्राम तौल भएका स्वस्थ व्यक्तिलाई नियमित रक्तदानका लागि उत्प्रेरित गर्दै आउनुभएको छ।
कर्णाली तथा लुम्बिनी प्रदेशका पहाडी तथा दुर्गम जिल्लामा समेत रक्तदान अभियानलाई विस्तार गर्दै आउनुभएका कर्माचार्यले यसअघि मुगु, जुम्ला, जाजरकोट, सुर्खेतलगायत जिल्लामा रक्तदान गरिसक्नुभएको छ। त्यसैगरी उहाँले सिन्धुपाल्चोक, गोरखा, बाजुरा, डडेल्धुरा, नुवाकोट, स्याङ्जा, बाँके र कञ्चनपुरलगायत विभिन्न जिल्लामा पुगेर रक्तदान गर्नुभएको छ।
रक्तदानलाई सहर तथा रक्तसञ्चार केन्द्रमा मात्र सीमित नराखी ग्रामीण र दुर्गम क्षेत्रसम्म पुर्याउने अभियानमा कर्माचार्य लामो समयदेखि सक्रिय हुनुहुन्छ। उहाँले स्थानीय युवायुवतीलाई स्वयंसेवी रक्तदानमा सहभागी गराउँदै नियमित रक्तदानप्रति सकारात्मक धारणा विकास गर्न योगदान पुर्याउँदै आउनुभएको छ।
रक्त अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफूले स्वयंसेवी रक्तदाता अभियानलाई निरन्तरता दिँदै आएको कर्माचार्यले बताउनुभएको छ। उहाँले स्वस्थ व्यक्तिलाई नियमित रक्तदान गर्न आह्वान गर्दै रक्तदानबाट अरूको जीवन बचाउन सकिने सन्देश प्रवाह गर्दै आउनुभएको छ।
लिवाङमा सम्पन्न १८८औँ रक्तदानसँगै कर्माचार्यले देशका विभिन्न भूगोलमा पुगेर स्वयं रक्तदान गर्ने आफ्नो अभियानलाई निरन्तरता दिनुभएको छ।