सात दिन भित्र आवेदन दिनुपर्ने
काठमाडौं, १४ असोज । चितवनकोस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
अस्पतालले सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई सात दिनभित्र आवेदन पेस गर्न आग्रह गरेको हो।
अस्पतालले कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि अनलाइन आवेदन फाराम खुला गरेको छ। इच्छुक उम्मेदवारले अस्पतालको आधिकारिक वेबसाइटबाट आवेदन फाराम भरी आवश्यक कागजातसहित आवेदन पेस गर्न सक्नेछन्। अस्पतालले आवेदन प्रक्रियालाई सहज बनाउन अनलाइन माध्यमबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ। उम्मेदवारले आवेदन फाराम भरेपछि आवश्यक सम्पूर्ण कागजात स्क्यान गरी पीडीएफ ढाँचामा इमेलमार्फत पठाउनुपर्नेछ।
आवेदन फारामसँगै आवश्यक सम्पूर्ण कागजात पीडीएफ ढाँचामा संलग्न गरी bpkmchinfo@gmail.com मा इमेल ठेगानामा पठाउनुपर्ने अस्पतालले जनाएको छ। इमेलमार्फत पठाइने सम्पूर्ण कागजातको आकार २० मेगाबाइटभन्दा बढी हुन नहुने सूचनामा उल्लेख छ।अस्पतालले आवश्यक कागजात नपुगेका तथा अपूर्ण आवेदनहरू स्वीकार नगर्ने स्पष्ट पारेको छ।
अस्पतालमा लामो समयदेखि निमित्त कार्यकारी निर्देशक डा.उमेश नेपालले अस्पताल सञ्चालन गर्दै आउनु भएको छ ।