• आइतबार, १८ असोज २०८३
  • images

    सुरक्षित औषधि प्रयोगमा फार्मासिस्टको भूमिका सशक्त बनाउनुपर्ने

    सुरक्षित औषधि प्रयोगमा फार्मासिस्टको भूमिका सशक्त बनाउनुपर्ने

    शुक्रबार, असोज ९ २०८३
    शुक्रबार, असोज ९ २०८३
    सुरक्षित औषधि प्रयोगमा फार्मासिस्टको भूमिका सशक्त बनाउनुपर्ने

    काठमाडौँ, ९ असोज । औषधि व्यवस्था विभागले औषधिको सुरक्षित, प्रभावकारी र गुणस्तरीय प्रयोग सुनिश्चित गर्न फार्मासिस्टको भूमिकालाई थप सशक्त बनाउनुपर्ने जनाएको छ।

    विश्व फार्मासिस्ट दिवस, २०२६ का अवसरमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले जारी गर्नुभएको शुभकामना सन्देशमा सबल औषधि प्रणाली र प्रभावकारी स्वास्थ्य सेवाका लागि दक्ष फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ।

    यस वर्षको विश्व फार्मासिस्ट दिवसको नारा ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ रहेको छ।

    महानिर्देशक भट्टराईले औषधिको तर्कसंगत प्रयोग, जीवाणुरोधी औषधिको जिम्मेवार प्रयोग, औषधिबाट हुन सक्ने प्रतिकूल असरको निगरानी, औषधि सुरक्षा, बिरामी परामर्श तथा उपचारमा निरन्तरता कायम गर्ने कार्यमा फार्मासिस्टको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ।

    उहाँले सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिमा प्रत्येक नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभएको छ। औषधिको गुणस्तर र सुरक्षासँग जोडिएका विषयमा फार्मासिस्टको ज्ञान, सीप र व्यावसायिक दक्षतालाई स्वास्थ्य सेवाको मूल प्रवाहमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उहाँको भनाइ छ।

    युवा फार्मासिस्टले बदलिँदो स्वास्थ्य प्रविधिअनुसार आफ्नो ज्ञान र सीप निरन्तर अद्यावधिक गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ। विद्युतीय स्वास्थ्य सेवा, कृत्रिम बौद्धिकता, दूर–फार्मेसी, औषधि र आनुवंशिक विशेषताबीचको सम्बन्धसम्बन्धी अध्ययन, आधुनिक औषधि उत्पादन तथा अस्पतालमा आधारित औषधि सेवाजस्ता क्षेत्रमा नयाँ ज्ञान र सीप विकास गर्न उहाँले आग्रह गर्नुभएको छ।

    त्यसैगरी प्रमाणमा आधारित अभ्यास, व्यावसायिक नेतृत्व तथा अनुसन्धानलाई प्राथमिकता दिँदै फार्मासिस्टले स्वास्थ्य सेवामा आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने सन्देशमा उल्लेख छ।

    कम गुणस्तरका तथा नक्कली औषधिको नियन्त्रण, औषधि बजारको जोखिममा आधारित अनुगमन र जीवाणुरोधी औषधिप्रतिको प्रतिरोध बढ्दै जानु विश्वव्यापी चुनौतीका रूपमा रहेको जनाउँदै महानिर्देशक भट्टराईले यस्ता समस्या समाधानका लागि नियामक निकाय, औषधि उद्योग, अस्पताल तथा विश्वविद्यालयबीच थप प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

    औषधिबाट प्राप्त हुने स्वास्थ्य सेवाको गुणस्तर, सुरक्षा र प्रभावकारितामा सुधार ल्याउन नियामक निकाय, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक तथा फार्मासिस्टबीचको समन्वय र सहकार्य अझ सुदृढ हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।

    विश्व फार्मासिस्ट दिवस हरेक वर्ष सेप्टेम्बर २५ मा मनाइन्छ। यस दिवसले औषधिको सुरक्षित प्रयोग, बिरामीको उपचारमा फार्मासिस्टको योगदान तथा स्वास्थ्य प्रणालीमा फार्मेसी सेवाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार