काठमाडौं, १० भदौ । औषधी व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईले पुनः पाउनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई विभागको महानिर्देशकको जिम्मेवारी दिनुभएको हो ।
एघारौँ तहका भट्टराई यसअघि राष्ट्रिय औषधी प्रयोगशालाको निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । औषधीको मूल्यसम्बन्धी विषयमा विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाल छानबिनमा परेपछि भट्टराईलाई पनि मन्त्रालयमा सरुवा गरिएको थियो ।
गत वैशाख ३ गते मन्त्रालयमा सरुवा हुनुभएका भट्टराईलाई करिब साढे पाँच महिनापछि पुनः विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
भट्टराई मन्त्रालयमा सरुवा भएपछि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दशौँ तहकी शिवानी खड्गीले सम्हाल्दै आउनुभएको थियो । भट्टराईले महानिर्देशकको जिम्मेवारी सम्हाल्नु भएपछि खड्गी आफ्नो पूर्ववत् जिम्मेवारीमा फर्कनुहुनेछ ।
मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भट्टराईलाई मन्त्रालयमा सरुवा गरिए पनि उहाँमाथि कुनै विशेष विषयमा छानबिन वा कारबाहीको प्रक्रिया अघि बढाइएको थिएन । लामो समयसम्म जिम्मेवारीविहीन अवस्थामा राख्न उपयुक्त नहुने भएकाले उहाँलाई विभागको नेतृत्वको जिम्मेवारी दिइएको हो ।
उहाँलाई त्यसबेला मन्त्रालयमा सरुवा गरिएको भए पनि उहाँमाथि कुनै विशेष विषयमा छानबिनको प्रक्रिया थिएन । लामो समयसम्म जिम्मेवारीविहीन राख्नुभन्दा उहाँको अनुभव र कार्यक्षमताका आधारमा विभागको नेतृत्वको जिम्मेवारी दिने निर्णय भएको हो,’ मन्त्रालयका ती अधिकारीले बताउनुभयो ।
भट्टराई यसअघि पनि औषधी व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएको छ । औषधीको गुणस्तर तथा मूल्य नियमन, उत्पादन, आयात तथा बिक्री–वितरणको अनुगमन र औषधीजन्य पदार्थको व्यवस्थापनलगायतका महत्वपूर्ण जिम्मेवारी विभागले सम्हाल्दै आएको छ ।
महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएका भट्टराईका सामु औषधीको मूल्य नियमन तथा अनुगमनलाई प्रभावकारी बनाउने, औषधीको गुणस्तर सुनिश्चित गर्ने तथा बजारमा औषधीको सहज उपलब्धता कायम गर्नेलगायतका चुनौती रहनेछन् ।