काठमाडौँ, २७ भदौ । गोरखापत्र दैनिकका पूर्वसम्पादक, वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको शनिबार बिहान निधन भएको छ । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उहाँलाई सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । अस्पताल पु¥याएपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरिएको हो ।
गौतमको शव हाल अस्पतालमै राखिएको छ । उहाँकी छोरी लन्डनबाट आइपुगेपछि आइतबार पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने छ।
गौतम केही समयदेखि मिर्गौला, कलेजो र फोक्सोसँग सम्बन्धित स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएपछि थप परीक्षणका लागि चिकित्सकले समय दिनुभएको थियो । शनिबार बिहान स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई थानकोटबाट अस्पताल लगिएको थियो ।
पत्रकारितामा लामो समयदेखि सक्रिय गौतमले गोरखापत्र दैनिकको सम्पादकका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले विभिन्न सञ्चारमाध्यममा स्तम्भकारका रूपमा समेत काम गर्नुभएको थियो ।
पत्रकारितासँगै लेखनमा समेत सक्रिय गौतम थानकोटमा बस्दै आउनुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता तथा साहित्यिक क्षेत्रमा क्षति पुगेको छ ।