काठमाडौं, २९ साउन । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितको उपचार गरेबापत ३७६ वटा सूचीकृत स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा सोधभर्ना गरेको छ।
बोर्डको साउन २८ गते बसेको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट उक्त रकम सम्बन्धित स्वास्थ्य संस्थालाई सोधभर्ना गरिएको हो।
बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरेको सेवाबापत पेश गरेका दाबीमध्ये २०८२ साल माघ र फागुन महिनासम्मको दाबी रुजु तथा मूल्यांकन गरी सोधभर्ना गरिएको हो।
सोधभर्ना पाउने स्वास्थ्य संस्थामा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल, निजी अस्पताल तथा शिक्षण अस्पतालसमेत रहेका छन्। बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाले पेश गरेका दाबीको आवश्यक रुजु तथा मूल्यांकनपछि स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरेको जनाएको छ।
पछिल्लो सोधभर्ना रकममा ठूला तथा विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालदेखि दुर्गम र ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल तथा जिल्ला अस्पतालसमेत समेटिएका छन्। यसले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरिरहेका विभिन्न तहका स्वास्थ्य संस्थालाई समेटेको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितलाई सेवा प्रदान गरेपछि सम्बन्धित स्वास्थ्य संस्थाले उपचार तथा सेवाको विवरणसहित बोर्डमा दाबी पेश गर्ने व्यवस्था छ। प्राप्त दाबीको रुजु तथा मूल्यांकनपछि स्वीकृत रकम स्वास्थ्य संस्थालाई सोधभर्ना गरिँदै आएको छ।
सरकारले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा बोर्डका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। सोही बजेटबाट बीमितलाई सेवा प्रदान गरेबापत सूचीकृत स्वास्थ्य संस्थालाई सोधभर्ना गरिँदै आएको बोर्डले जनाएको छ।
पछिल्लो निर्णयसँगै बीमितको उपचार गरेबापत स्वास्थ्य संस्थाले पाउनुपर्ने सोधभर्ना रकममध्ये माघ र फागुनसम्मको दाबीको ठूलो हिस्सा भुक्तानी भएको छ। बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सेवा प्रदायक संस्थाबाट प्राप्त दाबीको रुजु, मूल्यांकन तथा भुक्तानी प्रक्रियालाई निरन्तरता दिइरहेको जनाएको छ।