काठमाडौं, २७ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंले सिंहदरबारका दुई चमेना गृह (क्यान्टिन) सहित काभ्रेको एक डेरी उद्योगमा संयुक्त अनुगमन गरेको छ।
अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तरका क्षेत्रमा सुधार गर्नुपर्ने अवस्था देखिएपछि सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन दिइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार २०८३ साल असार २६ गते गरिएको अनुगमनका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको सिंहदरबारस्थित किशु चमेना गृह, अर्थ मन्त्रालयको चमेना गृह सञ्चालन गर्ने मनकामना आरएसजेभी तथा काभ्रेको बनेपा–१ स्थित गल्फु विनायक डेरी प्रालिको निरीक्षण गरिएको हो।
किशु चमेना गृहको भान्सा साँघुरो हुनुका साथै बाहिरको केही खुला भागमा समेत खाद्य पदार्थ तयार गर्ने गरिएको पाइएको विभागले जनाएको छ। त्यस्तै, भान्सामा राखिएको धुवाँ निकास प्रणाली प्रभावकारी नरहेको, कीट नियन्त्रणको व्यवस्था पर्याप्त नभएको तथा भान्साको सरसफाइ सामान्य अवस्थामा रहेको पाइएको थियो। यद्यपि, प्रयोग भइरहेको तेलको कुल ध्रुवीकृत पदार्थको मात्रा ९ दशमलव ५ प्रतिशत रहेकाले सो पक्ष मापदण्डअनुकूल पाइएको विभागले जनाएको छ।
शर्माका अनुसार चमेना गृहलाई खाद्य स्वच्छताका मापदण्ड पूर्ण रूपमा पालना गर्न, भौतिक तथा संरचनात्मक सुधार गर्न र नियमित सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ।
भुइँ, भित्ता र छतको सरसफाइ थप प्रभावकारी बनाउन, धुवाँ निकास तथा कीट नियन्त्रणको व्यवस्था सुधार गर्नसमेत निर्देशन दिइएको विभागले जनाएको छ। सुधार गरिसकेपछि सात दिनभित्र प्रमाणसहित विभागमा उपस्थित हुन चमेना गृहलाई निर्देशन दिइएको छ।
त्यसैगरी, अर्थ मन्त्रालयको चमेना गृहमा गरिएको अनुगमनका क्रममा भान्साको सरसफाइ र कीट नियन्त्रणको अवस्था सामान्य पाइएको थियो। उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ प्रयोग गरिएको वा भण्डारण गरिएको भने नभेटिएको विभागले जनाएको छ। चमेना गृहलाई खाद्य स्वच्छता कायम गर्न तथा सरसफाइ र कीट नियन्त्रणको व्यवस्था थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ।
काभ्रेको बनेपा–१ स्थित गल्फु विनायक डेरीमा भने लेबल विवरण नभएका काजु र बदामजस्ता कच्चा पदार्थ प्रयोग भइरहेको पाइएको थियो। डेरी तथा व्यक्तिगत सरसफाइको अवस्था सन्तोषजनक रहे पनि कीट नियन्त्रणको व्यवस्था सामान्य रहेको अनुगमनका क्रममा देखिएको विभागले जनाएको छ। उद्योग परिसरमा रहेको प्रशोधित दूधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत रहेको पाइएको थियो।
डेरीलाई दूध तथा दुग्ध पदार्थ स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५ पालना गर्न, खाद्य स्वच्छता कायम गर्न तथा सरसफाइ र कीट नियन्त्रणको व्यवस्था थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ। लेबल विवरण अपूर्ण भएका खाद्य पदार्थ प्रयोग नगर्नसमेत निर्देशन दिइएको छ।
गल्फु विनायक डेरीबाट थप अनुसन्धानका लागि घ्यू र बटरको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको छ। प्रयोगशाला परीक्षणबाट प्राप्त हुने परिणामका आधारमा आवश्यक थप कारबाही वा निर्देशन अघि बढाइने विभागले जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले खाद्य व्यवसाय सञ्चालन गर्दा स्वच्छता र गुणस्तरका आधारभूत मापदण्डलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउनुभयो। अनुगमनका क्रममा देखिएका कमजोरीलाई तत्काल सुधार गर्न सम्बन्धित व्यवसायलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो। “खाद्य पदार्थ उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री–वितरण गर्ने व्यवसायले उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर स्वच्छता र गुणस्तर कायम गर्नुपर्छ,” उहाँले भन्नुभयो।
डा. शर्माले अनुगमनका क्रममा देखिएका कमी–कमजोरी सुधार गर्न निर्देशन दिइएको र सुधारको अवस्थासमेत पुनः अनुगमन गरिने जानकारी दिनुभयो। खाद्य व्यवसायीले कानुन तथा तोकिएका मापदण्ड पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक कारबाही अघि बढाइने उहाँले बताउनुभयो।