काठमाडौं, २० साउन । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त हुनुभएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयमार्फत आलमलाई परिषद्को अध्यक्ष नियुक्त गर्नुभएको हो। नियुक्तिपछि उहाँले मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
शपथलगत्तै आलमले नेपाल फार्मेसी परिषद्मा पुगेर कार्यभार सम्हाल्ने तयारी गर्नुभएको छ। उहाँको नियुक्तिसँगै परिषद्ले नयाँ नेतृत्व पाएको छ।
यसअघि परिषद्को अध्यक्ष पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्तिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवेदन आह्वान गरेको थियो। आवेदन दिएका उम्मेदवारमध्ये कादिर आलम, धर्मप्रसाद खनाल, प्रदीप लम्साल, बाबुराम हुमागाईं, विजय यादव, राजकुमार थापा र लिला जोशी गुरुवाचार्यलाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।
अन्तर्वार्तापछि मन्त्रीस्तरीय निर्णयका आधारमा आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो।
नेपाल फार्मेसी परिषद् फार्मेसी पेसाको नियमन, फार्मेसी शिक्षा तथा व्यवसायीको दर्ता, नवीकरण र पेसागत मापदण्ड कार्यान्वयन गर्ने वैधानिक निकाय हो।