• सोमबार, २ कात्तिक २०८३
  • images

    काठमाडौं महानगरले सञ्चालनमा ल्यायो खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला

    काठमाडौं महानगरले सञ्चालनमा ल्यायो खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला

    बिहीबार , असार २५ २०८३
    बिहीबार , असार २५ २०८३
    काठमाडौं महानगरले सञ्चालनमा ल्यायो खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला

    काठमाडौं, २५ असार । काठमाडौं महानगरपालिकाले खाद्य पदार्थको गुणस्तर तथा स्वच्छताको वैज्ञानिक परीक्षणका लागि ‘खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला (फुड बायोलोजिकल टेस्टिङ ल्याबोरेटरी) सञ्चालनमा ल्याएको छ। प्रयोगशालाको सञ्चालनसँगै बजारमा बिक्री हुने खाद्य पदार्थको गुणस्तर परीक्षण, अनुगमन तथा नियमन अब थप वैज्ञानिक र प्रमाणमा आधारित हुने अपेक्षा गरिएको छ।

    महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बिहीबार काठमाडौं प्लाजाको पाँचौँ तलामा स्थापना गरिएको प्रयोगशालाको उद्घाटन गर्नुभएको छ ।  कृषि तथा पशुपक्षी विभागअन्तर्गत सञ्चालन हुने यो प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थापना गरिएको महानगरपालिकाले जनाएको छ।

    images

    प्रयोगशालामा खाद्यजन्य रोगसँग सम्बन्धित विभिन्न रोगजनक सूक्ष्मजीवहरूको परीक्षण गरिनेछ। यहाँ इसेरिसिया कोलाइ (इकोलाई), साल्मोनेला एसपिपी, स्टाफिलोकोकस ओरियस, टोटल प्लेट काउन्ट, टोटल मोल्ड काउन्ट, फिकल कोलिफर्म लगायतका सूक्ष्मजीवहरूको परीक्षण हुने व्यवस्था गरिएको छ।

    महानगरपालिकाका अनुसार प्रयोगशाला सञ्चालनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप मानक सञ्चालन कार्यविधि (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर–एसओपी) तयार गरिएको छ। नमूना दर्तादेखि परीक्षण प्रतिवेदन तयार पार्ने सम्पूर्ण प्रक्रिया वैज्ञानिक विधि र गुणस्तर व्यवस्थापन प्रणालीअनुसार सञ्चालन गरिनेछ।

    प्रयोगशालाको उद्घाटन गर्दै कार्यवाहक प्रमुख डङ्गोलले बजार अनुगमन अब अनुमानका आधारमा नभई वैज्ञानिक प्रमाणका आधारमा हुने बताउनुभयो। उहाँले प्रयोगशालाको सञ्चालनपछि बजारबाट सङ्कलन गरिएका खाद्य नमूनाको आफ्नै प्रयोगशालामा परीक्षण गरी प्राप्त नतिजाका आधारमा आवश्यक कानुनी कारबाही गर्न सकिने उल्लेख गर्नुभयो।

    उहाँका अनुसार महानगरपालिकाले हालसम्म तीन हजार ९० जना खाद्य व्यवसायीलाई क्षमता विकास तालिम प्रदान गरी उपभोक्ता अधिकार, खाद्य स्वच्छता र व्यवसायिक उत्तरदायित्वका विषयमा अभिमुखीकरण गरिसकेको छ। साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा घुम्ती प्रयोगशालामार्फत नियमित तथा आकस्मिक बजार अनुगमन पनि सञ्चालन भइरहेको छ।

    डङ्गोलले महानगरपालिकाले खाद्य स्वच्छता कायम गर्न आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको उल्लेख गर्दै आगामी दिनमा प्रयोगशालाको क्षमता थप विस्तार गरिने जानकारी दिनुभयो।

    प्रयोगशाला सञ्चालनमा आएपछि खाद्य स्वच्छताको अनुगमन, नियमन तथा नियन्त्रण प्रक्रिया थप प्रभावकारी, छिटो र प्रमाणमा आधारित हुने महानगरपालिकाको विश्वास छ। यसबाट उपभोक्ताले सुरक्षित र स्वच्छ खाद्य वस्तु प्राप्त गर्ने अधिकारको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले खाद्य सुरक्षाको क्षेत्रमा महानगरले वैज्ञानिक प्रणाली अवलम्बन गरेको उल्लेख गर्दै यसले उपभोक्ता संरक्षणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

    महानगरपालिकाका खाद्य स्वच्छता विज्ञ सल्लाहकार जीवनप्रभा लामाले खाद्य स्वच्छता सुनिश्चित गर्न कानुनी व्यवस्था, प्रभावकारी कार्यान्वयन, खाद्य निरीक्षण, प्रयोगशाला सेवा तथा उपभोक्ता सचेतना एकअर्काका परिपूरक आधार भएको बताउनुभयो। उहाँले यी सबै पक्षमा महानगरपालिकाले एकसाथ काम गरिरहेको उल्लेख गर्दै खाद्य स्वच्छताको क्षेत्रमा यो महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गर्नुभयो।

    महानगरपालिकाले आगामी दिनमा असल प्रयोगशाला अभ्यास (गुड ल्याबोरेटरी प्राक्टिस) अनुरूप प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता (एक्रिडेसन) दिलाउने लक्ष्यसमेत राखेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार