काठमाडौँ, १७ असार । नेपाल चिकित्सक संघले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गराउँदै कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गर्न माग गरेको छ।
बुधबार जारी विज्ञप्तिअनुसार संघले सामाजिक सञ्जालमार्फत नेपाल मेडिकल काउन्सिल तथा चिकित्सक समुदायलाई लक्षित गरी प्रकाशित भएका भनिएका अभिव्यक्तिहरू भ्रामक, आधारहीन, मानहानिपूर्ण र गैरजिम्मेवारपूर्ण रहेको दाबी गरेको छ।
संघका अनुसार नेपाल मेडिकल काउन्सिलले प्रचलित कानुनअनुसार आफ्नो नियामक जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा काउन्सिल, त्यसका पदाधिकारी तथा चिकित्सकहरूको प्रतिष्ठामा आँच पुग्ने गरी तथ्यहीन र कपोलकल्पित सामग्री सार्वजनिक गरिएको छ। यस्ता गतिविधिले काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेसहित पदाधिकारीहरूको मानमर्दन तथा चरित्रहत्या भएको संघको दाबी छ।
यसै सन्दर्भमा संघले नेपाल प्रहरीको साइबर ब्यूरोलाई औपचारिक पत्र पठाएर सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको अनुसन्धान गरी साइबर अपराधसम्बन्धी प्रचलित कानुनअन्तर्गत आवश्यक कारबाही अघि बढाउन आग्रह गरेको जनाएको छ। उजुरीसँगै सम्बन्धित सामाजिक सञ्जालका पोस्टहरूको डिजिटल प्रमाणसमेत पेश गरिएको संघले उल्लेख गरेको छ।
संघले चिकित्सा विज्ञानसँग सम्बन्धित प्राविधिक विषयमा प्रमाणविहीन दाबी तथा गलत सूचना सार्वजनिक हुँदा सर्वसाधारणमा स्वास्थ्य सेवा र चिकित्सा प्रणालीप्रति भ्रम, त्रास तथा अविश्वास बढ्ने जोखिम रहने जनाएको छ। यस्ता गतिविधिले चिकित्सक र बिरामीबीचको विश्वासमा नकारात्मक प्रभाव पार्नुका साथै स्वास्थ्यकर्मीहरूको सुरक्षासमेत प्रभावित हुन सक्ने संघको धारणा छ।
विज्ञप्तिमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा तथ्यहीन सूचना र अफवाह फैलिन नदिन सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ। साथै, सामाजिक सञ्जालमा प्रकाशित भनिएका भ्रामक सामग्री हटाउन लगाई घटनाको निष्पक्ष अनुसन्धान गरी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न साइबर ब्यूरोसँग संघले आग्रह गरेको छ।
यसअघि जारी गरेको अर्को विज्ञप्तिमार्फत पनि संघले नेपाल मेडिकल काउन्सिल तथा त्यसका पदाधिकारीहरूको प्रतिष्ठामा असर पुग्ने अभिव्यक्ति अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग अनुरोध गरेको जनाएको छ।