• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

    भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

    बिहीबार , असार ११ २०८३
    बिहीबार , असार ११ २०८३
    भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

    भक्तपुर, ११ असार । भक्तपुर जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्डफ्लू (एचफाइभ एनवान) संक्रमण पुष्टि भएपछि नियन्त्रण तथा रोकथामका लागि ४८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।

    पशु सेवा कार्यालय भक्तपुरका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ का प्रभावित फार्ममा पालिएका ३८ हजार ७९५ कुखुरा नष्ट गरिएको छ। त्यसैगरी सूर्यविनायक नगरपालिका–१, ४ र ८ का फार्ममा रहेका नौ हजार ३७८ कुखुरा नष्ट गरिएका छन्।

    संक्रमण पुष्टि भएका फार्मका कुखुरा, अण्डा, दाना तथा अन्य सामग्रीसमेत नष्ट गरी क्षेत्रलाई निसंक्रमण (डिसइन्फेक्सन) गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ। हालसम्म जिल्लामा कुल ४८ हजार १७३ कुखुरा नष्ट गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ।

    पशु स्वास्थ्य विज्ञहरूका अनुसार बर्डफ्लू अत्यन्त सङ्क्रामक भाइरसजन्य रोग हो, जसले कुखुरा तथा अन्य पक्षीमा तीव्र रूपमा संक्रमण फैलाउन सक्छ। रोग फैलिन नदिन जैविक सुरक्षा (बायोसेक्युरिटी) उपायहरूको कडाइका साथ पालना गर्न किसानलाई आग्रह गरिएको छ।

    चालु आर्थिक वर्षमा बर्डफ्लूको संक्रमण पहिलो पटक कोशी प्रदेशको मोरङ जिल्लामा पुष्टि भएको थियो। त्यसपछि संक्रमण विस्तार हुँदै विभिन्न जिल्लाका दर्जनौं कुखुरा फार्ममा फैलिएको पशु सेवा विभागले जनाएको छ। मोरङ, सुनसरी, झापा, चितवन, बारा, महोत्तरी, नवलपरासी लगायतका जिल्लामा संक्रमण देखिएपछि लाखौं कुखुरा तथा अण्डा नष्ट गरिएका थिए।

    हालै संक्रमण काठमाडौँ उपत्यकाभित्र पनि फैलिएको पुष्टि भइसकेको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न कुखुरा फार्ममा संक्रमण देखिएपछि नियन्त्रणका लागि व्यापक अभियान सञ्चालन गरिएको छ।

    बर्डफ्लूको असर कुखुरा फार्ममा मात्र सीमित नरही वन्यजन्तुमा समेत देखिएको छ। गत असार ५ गते ललितपुरको जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा रहेका केही चराचुरुङ्गी तथा जनावरमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको थियो।

    चिडियाखानामा बकुल्ला, लाटोकोसेरो, गिद्ध लगायतका चराचुरुङ्गी तथा केही स्तनधारी जनावरमा समेत संक्रमण देखिएको थियो। संक्रमण फैलिन नदिन तथा जनस्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न चिडियाखाना बन्द गरी विशेष निगरानी र निसंक्रमण कार्य अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।

    पशु स्वास्थ्य अधिकारीहरूले कुखुरा फार्म सञ्चालकलाई मृत वा बिरामी पक्षी देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन, फार्ममा बाह्य व्यक्तिको आवतजावत नियन्त्रण गर्न तथा जैविक सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।

    विशेषज्ञहरूका अनुसार समयमै संक्रमण पहिचान गरी नियन्त्रणका उपाय अपनाउन सके बर्डफ्लूको फैलावट रोक्न सकिने भएकाले किसान तथा सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार