काठमाडौँ, १० चैत। काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा ठूलो सङ्ख्यामा मृत भेटिएका कागहरूमा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित निकायले सतर्कता बढाएका छन्।
कीर्तिपुर नगरपालिका र पशु सेवा विभागको संयुक्त टोलीले त्रिवि परिसरबाट सङ्कलन गरिएका मृत कागहरूको परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो। परीक्षणका लागि पठाइएका नमूनामध्ये ‘एच५एन१’ र ‘एच९’ दुवै प्रकारका भाइरस देखिएको पशु सेवा विभागले जनाएको छ।
नगरपालिकाकी पशु सेवा प्रमुख सुशीला गैरेका अनुसार त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यान क्षेत्रमा एक साताअघि नै काग मरेको सूचना प्राप्त भएको थियो। त्यसपछि गरिएको अनुगमनका क्रममा ठूलो सङ्ख्यामा काग मृत अवस्थामा फेला परेपछि नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो।
“आजसम्म त्रिवि परिसरबाट ६८ वटा मृत काग सङ्कलन गरिएको छ, जसमध्ये अधिकांशलाई सुरक्षित रूपमा खाल्डो खनी गाडिएको छ,” गैरेले जानकारी दिनुभयो। उहाँका अनुसार अझै केही स्थानमा मृत काग भेटिएकाले सङ्कलन कार्य भोलिसम्म पनि जारी रहनेछ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार डुलुवा तथा फिरन्ते चराहरूबाट कागमा बर्ड फ्लू सरेको हुनसक्ने अनुमान गरिएको छ। “कागजस्ता खुला रूपमा उड्ने चरामा देखिने संक्रमण नियन्त्रण गर्न कुखुरामा देखिने संक्रमणभन्दा चुनौतीपूर्ण हुन्छ,” उहाँले बताउनुभयो।
हालसम्म उक्त क्षेत्रमा अन्य प्रजातिका चरामा अस्वाभाविक मृत्यु नभेटिएको जनाइएको छ। तर संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै नगरपालिका र सम्बन्धित निकायले उच्च सतर्कता अपनाएका छन्।
कीर्तिपुर नगरपालिकाले स्थानीय क्षेत्रमा कुखुराका दाना ओसारपसारमा अस्थायी रोक लगाउनुका साथै किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। पशुपन्छी पालकलाई खोर सुरक्षित बनाउने, जङ्गली चराचुरुङ्गी तथा जनावरको पहुँच रोक्ने र खुला रूपमा चराचुरुङ्गी नपाल्न निर्देशन दिइएको छ।
त्यसैगरी, मरेका कुखुरा वा अन्य पशुपन्छीलाई बङ्गुरलाई खुवाउने, वा स्रोत नखुलेको सस्तो मासु उपभोग गर्ने जस्ता कार्य नगर्न पनि चेतावनी दिइएको छ।
विशेषज्ञहरूले बर्ड फ्लू पुष्टि भएको भन्दै जथाभावी काग वा अन्य चरालाई मार्ने कार्य नगर्न पनि आग्रह गरेका छन्। यस्ता गतिविधिले वातावरणीय सन्तुलनमा असर पार्ने र समस्या झन् जटिल बन्न सक्ने उनीहरूको भनाइ छ।
यसअघि पनि काठमाडौँका केही स्थानमा कागमा यस्तै प्रकारको संक्रमण देखिएको थियो। समय–समयमा देखिने यस्ता संक्रमणले अन्य चराचुरुङ्गीमा फैलिने जोखिम रहने भएकाले समयमै सतर्कता अपनाउनु अत्यावश्यक रहेको अधिकारीहरूको जोड छ।