काठमाडौँ, १० असार । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि तीन जना चिकित्सकको नाम सिफारिस गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्रोतका अनुसार डा.अजयकुमार झा, डा. योगेन्द्रप्रसाद सिंह र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिस सूचीमा परेको हो।
मन्त्रालयले सिफारिसमा परेका उम्मेदवारहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन।
अध्यक्ष पदका लागि सिफारिस भएका उम्मेदवारमध्ये डा.अजयकुमार झाको अनुभव र योग्यता सम्बन्धी विषयमा केही पक्षले प्रश्न उठाएका छन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष पदका लागि चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव वा समग्र स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ।
सरोकारवालाले डा.झाको क्यान्सर रोगसम्बन्धी विशेषज्ञता तथा कार्यअनुभवको अवधि ऐनमा उल्लेखित मापदण्डसँग मेल खान्छ वा खाँदैन भन्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। तर डा. झाले भने आफूले अध्यक्ष पदका लागि आवश्यक सबै योग्यता र अनुभव पूरा गरेको बताउनुभएको छ। उहाँका अनुसार सन् २००६ देखि चिकित्सकीय सेवामा सक्रिय रहँदै आउनुभएको छ र अस्पतालको दीर्घकालीन विकासका लागि आफूले स्पष्ट कार्ययोजना तयार गर्नुभएको छ।
अर्का सिफारिसित उम्मेदवार डा.विजयचन्द्र आचार्य यसअघि अस्पतालको निर्देशकका रूपमा कार्यरत रहनुभएको थियो। उहाँको कार्यकालका केही प्रशासनिक तथा व्यवस्थापकीय निर्णयहरूबारे विगतमा विभिन्न टिप्पणी र प्रश्न उठेका थिए। पछिल्लो अध्यक्ष छनोट प्रक्रियामा समेत उहाँको नाम चर्चामा रहेको छ।
यसैगरी, तेस्रो उम्मेदवार डा. योगेन्द्रप्रसाद सिंह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लामो समय सेवा गरेर अवकाश प्राप्त वरिष्ठ चिकित्सक हुनुहुन्छ। क्यान्सर उपचार तथा चिकित्सा शिक्षाको क्षेत्रमा उहाँको योगदान उल्लेखनीय मानिन्छ। शिक्षण अस्पताल परिसरमा स्थापित सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको विकास र सञ्चालनमा उहाँको महत्वपूर्ण भूमिका रहेको चिकित्सकहरू बताउँछन्।
मन्त्रालय स्रोतका अनुसार सिफारिस गरिएका तीन जनामध्येबाट अन्तिम नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ। यसबीच अस्पतालभित्रका केही कर्मचारी तथा सरोकारवालाले संस्थाको नेतृत्व चयन गर्दा योग्यता, अनुभव, संस्थागत आवश्यकता र भावी कार्यदिशालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गत वैशाख १५ गते अध्यक्ष पदका लागि खुला आवेदन आह्वान गरेको थियो। उक्त आह्वानअनुसार आठ जनाले आवेदन दिएका थिए। तीमध्ये एक जनाको आवेदन प्रक्रिया नपुगेको ठहर गर्दै मन्त्रालयले सात जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो।
प्रारम्भिक सूचीमा डा.अजयकुमार झा, डा. विजयचन्द्र आचार्य, डा. योगेन्द्रप्रसाद सिंह, डा. जया श्रेष्ठ, डा.भावना वाग्ले, डा.लक्ष्मीनारायण सिंह र डा. विश्वराम पौडेलको नाम समावेश थियो।