• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    स्वास्थ्यमन्त्री मेहताद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

    स्वास्थ्यमन्त्री मेहताद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

    बुधबार, असार १० २०८३
    बुधबार, असार १० २०८३
    स्वास्थ्यमन्त्री मेहताद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

    काठमाडौँ, १० असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ।

    मन्त्री मेहताले कोशी प्रदेश अन्तर्गतको भूगोल क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो।

    रास्वपाले महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाए पनि केही प्राविधिक तथा नीतिगत काम बाँकी रहेकाले मतदान प्रक्रिया भने अझै सुरु हुन सकेको छैन।

    चितवनमा जारी महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेको नेतृत्वलाई सुनिश्चित गरिसकेको छ। यद्यपि पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको चयन प्रक्रिया भने अझै टुंगो लाग्न बाँकी रहेको छ।

    निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको प्रारम्भिक सूचीअनुसार वर्तमान सरकारका विभिन्न मन्त्रीहरूले पनि केन्द्रीय समितिका विभिन्न पदका लागि उम्मेदवारी दिनुभएको छ।

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ भने परराष्ट्रमन्त्री शिशिर खनालले खुला समूहबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

    त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बागमती प्रदेशतर्फ उम्मेदवारी दर्ता गर्नुभएको छ।

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णाली भूगोलतर्फबाट उम्मेदवारी दिनुभएको छ। यस्तै शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले केन्द्रीय सदस्य पदमा तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फबाट उम्मेदवारी दिनुभएको छ।

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको निर्वाचन समितिले जनाएको छ।

    रास्वपाको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि जारी महाधिवेशनमा पार्टीका शीर्ष नेता तथा वर्तमान मन्त्रीहरूको उल्लेख्य सहभागिता देखिएको छ। निर्वाचन प्रक्रिया सम्पन्न भएपछि नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार